कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। उत्तर 24 परगना जिल्ला अन्तर्गत ब्यारकपुरपछि अब न्यू ब्यारकपुरमा गए आइतवार अबेर राति गोलीकाण्ड भएको प्रकाशमा आएको छ। आरोप छ, एकजना पञ्चायत सदस्यालाई लक्षित गर्दै गोली चलाइएको थियो, तर गोलीले लक्ष्य भेद नगरेको कारण पञ्चायत सदस्य भाग्यले बचे। यस घटनापछि क्षेत्रमा व्यापक तनाउ फैलियो। पुलिसले तत्काल कारबाही गर्दै मुख्य आरोपीलाई पक्राउ गऱ्यो।
जानकारी अनुसार, न्यू ब्यारकपुरको दक्षिण तालबांधा क्षेत्रमा गए आइतवार राति काली मन्दिरमा चोरीको घटना भयो। स्थानीय मानिसहरूले आरोपी युवक राहुल मण्डललाई समातेर घटनाको सूचना पञ्चायत सदस्यालाई दिए। यसैबीच राहुलले पनि आफ्ना साथीहरूलाई घटनास्थलमा बोलाए। दुवै पक्षमाझ चर्को बहस भइरहेको थियो अचानक आरोपी प्रणब विश्वासले पञ्चायत सदस्यालाई लक्षित गरेर गोली चलायो। तर गोली उनलाई लागेन। घटनापछि क्षेत्रमा भयको वातावरण सृजना भयो। कोकोहोलोबीच मुख्य आरोपी घटनास्थलबाट भाग्न सफल भएको थियो, तर केही घण्टापछि नै न्यू ब्यारकपुर पुलिसले उसलाई समात्यो।
पुलिस सूत्रानुसार प्रणब पहिला पनि गाँजा तस्करीको मामिलामा दुई वर्षको निम्ति जेलमा थुनिसकेको छ। यसै वर्षको गत मई महिनामा मात्र उ रिहा भएको थियो। अब प्रश्न उठिरहेको छ, उसित अवैध हतियार कहाँबाट आयो? यसको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा