गेजिङ, 08 सेप्टेम्बर (हि.स.)। नम्बू सिन्द्राबुङ ग्राम पञ्चायत एकाइमा सूर्य घर मुक्त बिजुली योजनालाई लिएर सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। जीपीयू कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गेजिङका अतिरिक्त जिल्लापाल (विकास) सुरत गुरुङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा नम्बू- सिन्द्राबुङ प्रान्तीय क्षेत्रका जिल्ला पञ्चायत जेबी लिम्बू, पञ्चायत अध्यक्ष आरबी सुब्बा, डीई (ऊर्जा) जेपी सुब्बा, जिल्ला सूचना अधिकारी कृष्ण लिम्बू, पञ्चायत सदस्यगण, स्रोत व्यक्तिहरू लगायत स्थानीय नागरिकको सहभागिता रहेको थियो।
आफ्नो सम्बोधनमा अतिरिक्त जिल्लापाल (विकास) गुरूङले प्रधानमन्त्री सूर्य घर मुक्त बिजुली योजना सम्बन्धमा विस्तृत जानकारी गराए। उनले बिजुलीलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा प्रस्तुत गर्दै प्राकृतिक स्रोतको सदुपयोगका साथ सौर्य ऊर्जा प्रयोगको आवश्यकता औँल्याए। उनले सौर्य शक्तिको उपयोगमार्फत आत्मनिर्भर ऊर्जा उत्पादन गर्न लाभप्रद बताउँदै आफ्नै घरमा यस्तो प्रणाली स्थापना गरी त्यसबाट उपार्जित बिजुली प्रयोग गर्न सकिने जनाए। उनले सरकारद्वारा कार्यान्वित योजना विशेषतः नागरिकलाई ऊर्जा बचत र आर्थिक रूपमा सहज हुने प्रष्ट पारे।
आफ्नो सम्बोधनमा विभागीय अभियन्ता (ऊर्जा) जेपी सुब्बाले सौर्य प्यानलको प्राविधिक पक्षबारे जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चायत अध्यक्ष आरबी सुब्बाले यस योजनाअन्तर्गत याङ्थाङ समष्टिबाट आठवटा जीपीयूमध्ये दुईवटा छनौट भएको र त्यसमा नम्बू सिन्द्राबुङलाई पनि चिह्नित गरिएको जानकारी गराए।
कार्यक्रमलाई स्रोतवक्ता समर दासले सम्बोधन गर्दै सौर्य बिजुली जडानको पञ्जीकरण र अन्य महत्त्वपूर्ण पक्षमाथि प्रकाश पारे। जिल्ला पञ्चायत जेबी लिम्बूले पनि कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रममा खुला विमर्श पनि गरिएको थियो। यस अवधि उपस्थित सदस्यहरूबाट आ-आफ्ना जिज्ञासाहरू प्रस्तुत गरिएको थियो। सहायक निर्देशक छिरिङ निडुप भोटियाको स्वागत सम्भाषणबाट प्रारम्भ भएको कार्यक्रम भीजीआरए हेमा राईले धन्यवाद ज्ञापन गरेको डीआईओ, गेजिङले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल