गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। भारतीय सूचना सेवा (आईआईएस) को ग्रुप ए का 13 जना अधिकारी प्रशिक्षु (ओटी) को एक समूहले 1-22 सेप्टेम्बर, 2025 सम्म आईआईएस ग्रुप ‘ए’ अधिकारीहरूको अखिल भारतीय (भारत दर्शन) अध्ययन भ्रमण अन्तर्गत एक हिस्साको रूपमा आज पत्र सूचना कार्यालय गान्तोकको भ्रमण गरे।
पत्र सूचना कार्यालय (पीआईबी) र आकाशवाणी समाचार गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले परम्परागत खादा र स्मृति चिन्ह भेंट गरेर अतिथि अधिकारीहरूलाई न्यानो स्वागत जनाए। उक्त जानकारी आज पीआईबीले दिएको छ।
शर्माले आफ्नो स्वागत भाषणमा अधिकारीहरूलाई पीआईबी र आकाशवाणी समाचारको चलिरहेका गतिविधिहरूको बारेमा जानकारी दिए। उनले सिक्किममा मिडिया परिदृश्यको विस्तृत जानकारी पनि प्रदान गरे र गत एक वर्षमा पीआईबीद्वारा गरिएका विभिन्न कार्यशाला र गतिविधि/पहलहरूको बारेमा जानकारी दिए। उनले पाँच वर्षको अन्तरालपछि जून महिनामा नथुला सिमानाको माध्यमद्वारा कैलाश मानसरोवर यात्रा पुनः शुरु भएको विषयमा आफ्नो अनुभव पनि साझा गरे।
उनले सीबीसीसँगको समन्वयमा पीआईबीले सिक्किमका विभिन्न जिल्लाहरूमा सञ्चालन गरेको विकसित भारत 2047 को विषयवस्तु अन्तर्गत विभिन्न आईसीओपीहरूको बारेमा पनि जानकारी दिए। उनले भने कि सिक्किममा सरकारका कल्याणकारी योजनाहरूको बारेमा यी आउटरिच कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। उनले विभिन्न मिडिया प्लेटफर्महरूको माध्यमद्वारा सूचनाको प्रसार गर्ने प्रयास भइरहेको पनि बताए।
प्रशिक्षु अधिकारीहरूको तर्फबाट किरण मुरलीले पीआईबी गान्तोकलाई न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गरे र मानस प्रतिम शर्मालाई कृतज्ञताको प्रतीकको रूपमा स्मृति चिन्ह प्रदान गरे। यस अवसरमा दूरदर्शन केन्द्र गान्तोककी कार्यक्रम प्रमुख जिकमित लेप्चा र आकाशवाणी गान्तोक र पीआईबीका अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल