कांग्रेस र एसडीएफद्वारा 'भोट चोरी' को मुद्दामा विरोध प्रदर्शन आयोजित
कांग्रेस र एसडीएफद्वारा 'भोट चोरी' को मुद्दामा विरोध प्रदर्शन आयोजित


गान्तोक, 08 सेप्टेम्बर (हि.स.)। सिक्किम प्रदेश कांग्रेस कमिटी (एसपीसीसी) ले आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र छेउ कथित भोट चोरीको मुद्दामा विरोध प्रदर्शन आयोजन गऱ्यो। विरोध प्रदर्शनलाई सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले पनि समर्थन जनाएको थियो।

एसपीसीसीका अध्यक्ष गोपाल छेत्रीले एसपीसीसी र एसडीएफबीच कुनै राजनीतिक गठबन्धन नरहेको स्पष्ट गर्दै देशको संविधान र प्रजातन्त्रको रक्षाका लागि आफ्नो दायित्व निर्वहन गरिरहेको बताए। उनले संविधान बचाउनु प्रत्येक नागरिकको दायित्व रहेको बताए। उनले भो​ट चोरीको मुद्दा बिहारबाट शुरू भएको र बिस्तारै देशव्यापी रूपमा अगाडि बढिरहेको बताए। उनले सिक्किमको सन्दर्भमा बोल्दै राज्यमा जनताको मुड एकातिर थियो भने चुनाउको परिणाम अर्कै आएको थियो भनी दाबी गरे।

यसैगरी, एसडीएफ पार्टीका नेता कृष्ण खरेलले पनि एसडीएफको कुनै राजनीतिक दलसॅंग गठबन्धन नरहेको स्पष्ट गर्दै आज संविधान बचाउन र कानुन व्यवस्था बचाउन साझा संषर्घको पक्षमा अघि आएको बताए। उनले देश आज भोट चोरीको विरोधमा एक भएर अघि आइरहेको बेलामा एसडीएफ पनि यस मुद्दाको समर्थनमा अघि आएको आसय व्यक्त गरे।

एसडीएफले सिक्किममा भएको भोट चोरीको मामिला अगावै उजागर गरिसकेको छ भन्दै आफुहरूसॅंग यस सम्बन्धमा धेरै प्रमाणहरू रहेको उनले दाबी गरे। उनले सङ्घ निर्वाचन क्षेत्रमा भोटको संख्यामा फेरबदल भएको आरोप लगाउॅंदै त्यसको आंकडा आफुहरूसॅंग रहेको पनि दाबी गरे। सिक्किममा भएको भोट चोरीको मामिलामा प्रमाणहरू ईसीआई र केन्द्रमा पठाउने कार्य गरिएको पनि उनले जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande