खरसाङ, 08 सेप्टेम्बर (हि.स.)। विश्व फिजियोथेरापी दिवसको अवसरमा खरसाङमा बढ्दो उमेरमा स्वास्थ्य सुरक्षा र स्वास्थ्य विषयमा हेरचाह विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित डा अम्बिका लामाको क्लिनिकमा सम्पन्न भयो। सचेतना कार्यक्रमलाई वरिष्ठ साहित्यकार एवं समाजसेवी आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा विश्व फिजियोथेरापी दिवसको विषयमा जानकारी गराइएको थियो। फिजियोथेरापीको विषयमा डाक्टरहरुले सचेतना गराउनुका साथै विभिन्न विषयमा जानकारीमूलक वक्तव्य राखेका थिए।
यस क्रममा फिजियोथेरापिस्ट डा रिक्सिता थापाले बढ्दो उमेरमा स्वास्थ्य सुरक्षा र स्वास्थ्यमा कमजोरी र दुर्बलता कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइन्। त्यसरी नै अर्का फिजियोथेरापिस्ट डा रमन फुर्बा तामाङले कम्मर दुख्ने समस्या र यसको उपचार साथै यसको उपचारमा फिजियोथेरापीको भूमिका विषयमा सचेतना गराए। फिजियोथेरापिस्ट डा नेहारिका थापाले घुडा दुख्ने बिमारी र यसको निवारण विषयमा सचेतना गराइन्।
कार्यक्रममा आयोजक फिजियोथेरापिस्ट डा अम्बिका लामाले उच्च रक्तचाप र मधुमेह विषयमा जानकारी गराउँदै यसको उपचार र फिजियोथेरापीको भूमिका विषयमा विस्तृत जानकारी गराइन्। चिकित्सकहरूले विश्व फिजियोथेरापी दिवसको अवसरमा यसको महत्व र बढ्दो उमेरमा यसको मुख्य भूमिका विषयमा जानकारी गराएका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ नागरिकहरु साथै फिजियोथेरापी गराइरहेका बिरामीहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक