सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
Cap sikkim


गान्तोक, 11 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एसीईसी समन्वय बैठक आज तिमी नाम्फिङ निर्वाचन क्षेत्रम सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सञ्जु राईले गरेकी थिइन्।

बैठकमा मुख्य रूपमा सदस्यता अभियान, संगठनात्मक संरचना सुदृढीकरण तथा आगामी स्थापना दिवस र गणतन्त्र दिवसको तयारीसम्बन्धी विषयहरूमा छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष (जनजाति मामिला) ओङ्देन लेप्चाले श्रमिकहरूको मर्यादा र कल्याण सुनिश्चित गर्न सीएपी–सिक्किमद्वारा तय गरिएका विभिन्न नीतिहरूको विस्तृत जानकारी दिए। उनले काम गर्ने अवस्था, श्रम सम्झौता प्रणाली, घरेलु तथा कुटीर उद्योगजस्ता विषयमा प्रकाश पार्दै सबै क्षेत्रका श्रमिकहरूको मानवोचित र व्यवस्थित कल्याणमार्फत सिक्किम समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे।

यसरी नै सचिव, प्रशासन दिवस गुरुङले नियमित बैठक तालिका, डाटा व्यवस्थापन प्रक्रिया, क्राउड फन्डिङको महत्व तथा आगामी गणतन्त्र दिवस र स्थापना दिवस समारोहमा अधिकतम सहभागिता सुनिश्चित गर्न चालिएका कदमहरूबारे जानकारी दिए।

महिला कल्याण परिषद अध्यक्ष हेलेन राईले राजनीतिमा महिलाको सहभागिताबारे बोल्दै उनीहरूको व्यक्तिगत तथा व्यावसायिक व्यस्ततालाई स्वीकार गर्दै महिलाहरूको सक्रिय सहभागिताले राजनीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउँदै थप संलग्नताका लागि प्रेरित गरिन्।

बैठकको अध्यक्षता गर्दै सञ्जु राईले श्रमिक कल्याणप्रति वर्तमान सरकारको लापरवाहीको कडा आलोचना गर्दै तलब वृद्धि जस्ता बहानामा श्रमिकहरूको शोषण भइरहेको बताइन्। उनले दबाइएका आवाजहरू अब सुन्ने समय आएको छ भन्दै पार्टी नेताहरूलाई सबै वर्गलाई समान व्यवहार गर्न तथा उज्ज्वल र समृद्ध सिक्किम निर्माणका लागि अथक परिश्रम गर्न आह्वान गरिन्। उनले लोकतन्त्रमा मतदान मेसिन थिचेर समाप्त हुँदैन, सरकार गठनपछि शुरु हुने जिम्मेवारीबाट यसको वास्तविक शुरुवात हुन्छ भनी बताइन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande