
खरसाङ, 13 जनवरी (हि.स.)। खरसाङ टाउन कमिटी नारी शक्ति टोलीले आज खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका 40 जना सहायिकाहरुलाई लिएर सभा गऱ्यो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाको परामर्शमा खरसाङ टाउन कमिटी नारी शक्ति टोलीले खरसाङ नगरपालिकाको शिशु शिक्षा केन्द्रका सहायिकाहरुका समस्या बुझ्न र सम्पूर्ण रिपोर्ट पार्टी अध्यक्ष समक्ष राख्न सभा गरेको हो।
खरसाङ नगरपालिकाको सभा गृहमा आयोजित उक्त सभामा शिशु शिक्षा केन्द्रमा कार्यरत सहायिकाहरूले आफ्ना विभिन्न समस्याहरु राख्दै ती समस्याहरूको समाधानको निम्ति अनुरोध गरे। सभामा 28 नम्बर समष्टि नारी शक्तिका अध्यक्ष सुषमा मुखिया, महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाउ प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, उपाध्यक्ष सन्तोष परी आदि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक