
खरसाङ, 13 जनवरी (हि.स.)। नयाँ कमान एफसी घैयाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएशनद्वारा गत 3 जनवरीदेखि घैयाबारीस्थित नेताजी हाई स्कूलको खेल मैदानमा आयोजना भइरहेको नगद राशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज नयाँ कमान एफसी र जलपाइगढी एफसीमाझ खेल सम्पन्न भयो।
यस खेलको पहिलो हाफमा जलपाइगढी एफसीले निक्कै खेल देखाए तापनि गोल भने गर्न सकेन। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको खेलमा नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 10 सेन्डुप शेर्पाले गोल गरेर आफ्नो दललाई एक गोलको अग्रता दिलाए।
दोस्रो हाफको खेलमा पनि जलपाइगढी एफसीले गोल गर्ने धेरै प्रयास गरे तापनि सफल भएन। नयाँ कमान एफसीले 1-0 ले खेल जितेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ् द म्याच नयाँ कमान एफसीको जर्सी नम्बर 10 सेन्डुप शेर्पालाई चयन गरियो। आगामी 15 जनवरीका दिन रोयल एफसी र माउन्टेन ट्रुप्समाझ अर्को खेल हुनेछ।
घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनका सचिव शंकु खवासले बताए अनुसार, यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुनेछ। यस नगद राशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / हनोक