मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे
मुख्यमन्त्री एवं एनएचआईडीसीएलका अधिकारीहरू।


गान्तोक, 13 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज सिक्किममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा सञ्चालन गरिएका परियोजनाहरूको विषयमा छलफल गर्न एक समीक्षा बैठक आयोजन गरियो। उक्त बैठक आज मिन्तोकगाङमा गरिएको सीएमओले प्रेस विज्ञप्तिमा जनाएको छ।

बैठकमा राज्यभर सञ्चालनमा रहेका एनएचआईडीसीएल परियोजनाहरूको अवस्थाबारे समीक्षा गरियो, जसमा सम्पन्न भएका कार्य, हाल सञ्चालनमा रहेका परियोजना तथा तयारी चरणमा रहेका विस्तृत परियोजना प्रतिवेदन समावेश थिए। यसका साथै जिल्ला–विशेष सरोकारका विषयहरूमा पनि विस्तृत छलफल गरियो।

पाकिम जिल्लासम्बन्धी विषयमा जिल्लापालले उठाएका वेलकम गेट नजिकको सड़क खण्डसम्बन्धी समस्यामाथि विशेष छलफल गरियो। उक्त स्थानमा सवारी आवागमन कायम राख्दै निर्माण कार्य गर्ने वा थप जग्गा अधिग्रहणपछि निर्माण गर्ने—दुवै विकल्पमाथि विचार–विमर्श गरियो।

यसरी नै गेजिङ जिल्लाका विषयहरूमा एनएचआईडीसीएल परियोजनामा देखिएका प्रशासनिक तथा कार्यान्वयनसम्बन्धी चुनौती समाधानमा केन्द्रित छलफल गरियो। बैठकले समन्वयात्मक प्रयासमार्फत जनतालाई न्यूनतम असुविधा हुने गरी सड़क पूर्वाधार सुदृढीकरण गर्ने राज्य सरकारको प्रतिबद्धता पुनः दोहोर्‍यायो।

बैठकमा एनएचआईडीसीएलका कार्यकारी निर्देशक (पी) अशोक साहा, महाप्रबन्धक (भूमि अधिग्रहण) कर्नेल राजेश कुमार, महाप्रबन्धक (पीएमयू, रानीपुल) अपान भौमिक, महाप्रबन्धक (पीएमयू, रिनाक) कर्नेल एके सिद्दिकी, महाप्रबन्धक (एनएचआईडीसीएल, गेजिङ) एसबीएस माधुकर तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande