
दार्जिलिङ, 13 जनवरी (हि.स.)। इण्डियन आइडल सिजन तीनका विजेता तथा नायक प्रशान्त तामाङ पञ्चतत्वमा विलीन भएका छन्। दार्जिलिङमा उनको अन्तिम संस्कार सम्पन्न गरियो। दिवंगत तामाङलाई विदाई दिन आज हजारौंका संख्यामा मानिसहरू भेला भएका थिए।
पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङको गत आइतवार नयॉं दिल्लीमा असामयिक मृत्यु भयो। उनको पार्थिव शरीर हिजो दार्जिलिङ ल्याइयो भने आज अन्तिम संस्कार सम्पन्न गरिएको छ। उनको अन्तिम यात्रामा विभिन्न क्षेत्रका मानिसहरु सहभागी बन्दै श्रद्धाञ्जली अर्पण गरे। दिवंगत तामाङका परिवार, आफन्त, शुभचिन्तक र प्रशंसकहरूले उनलाई अश्रुपूर्ण नेत्रहरूले विदाई दिए।
असाधारण प्रतिभाका धनी स्वर्गीय प्रशान्त तामाङ 43 वर्षको छोटो उमेरमै असंख्यौं मानिसहरूको मनमा अमेट छाप छोड्न सफल बनेका छन्। उनले आफ्नो गायनका साथै अभिनय कलाको माध्यमले सबैको जीवनमा स्थायी प्रभाव छोडेका छन्। इण्डियन आइडल जस्तो प्रतिष्ठित मञ्चमा उनले गोर्खाहरू बहुप्रतिभाका धनी हुन् भन्ने प्रमाणित गर्दै सिर उच्च गरेका छन्, जुन इतिहासका पानाहरूमा स्वर्ण अक्षरले कुॅंदिएका छन्।
हिन्दुस्थान समाचार / हनोक