रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने
रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने


गान्तोक, 13 जनवरी (हि.स.)। रिकभरिङ युजर्स नेटवर्क (आरयूएन) ले हरेक वर्ष सरह यस वर्ष पनि 'रेड फेस्ट' आयोजना गर्ने भएको छ। रनले यस 10औं सङ्गीत महोत्सव 'रेड फेस्ट' मा राज्यका इच्छुक सबै साङ्गीतिक ब्याण्डहरूलाई भाग लिन आह्वान गरेको छ। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा रनका पदाधिकारीहरू आगामी 10औं रेड फेस्टको बारेमा जानकारी गराएका हुन्।

रनका अध्यक्ष आशिष लामाले 2011 देखि रनले सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटीको सहकार्यमा रेड फेस्ट आयोजना गर्दै आएको बताए। उनले एचआईभी/एड्स र ड्रग्सको बारेमा सचेतनाको लागि रनले सङ्गीत महोत्सव गर्दै आएको बताए। सङ्गीतको माध्यमद्वारा सहज, द्रुत अनि प्रभावशाली रूपमा सन्देश सम्प्रेषण गर्न सकिने हुनाले संस्थाले सचेतनाको लागि सङ्गीतलाई आफ्नो माध्यम चुनेको उनले स्पष्ट पारे।

विगतका साङ्गीतिक ब्याण्ड प्रतियोगिताहरूमा केवल हेभी मेटललाई स्थान दिइएको थियो भने यसपाली प्रतिभागीहरूले सङ्गीतको कुनै पनि विधामा आफ्नो प्रस्तुति दिन पाउने छुट रहेको उनले थप जानकारी गराए। यस अतिरिक्त, प्रतिभागीहरूले आफूहरूलाई मन पर्ने कुनै पनि भाषामा पनि आफ्नो प्रस्तुति दिन सक्ने उनले बताए।

उनले दक्षिण र पश्चिम सिक्किमका लागि जोरथाङमा आगामी 20 जनवरीका दिन अडिशन हुने बताए। यसरी नै पूर्व र उत्तर सिक्किमका लागि 22 र 23 जनवरीका दिन राजधानीमा अडिशन हुनेछ।

रनका प्रमुख सल्लाहकार केसी निमाले 2011 मा सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटीले मल्टीमिडिया क्याम्पेन आयोजन गर्दा रनलाई संलग्न गराएको अवगत गराए। उनले यस क्षेत्रमा यति ठूलो कार्यक्रम आयोजन गर्न यसरी कुनै संस्थालाई जिम्मा दिएको यो देशकै पहिलो उदाहरण रहेको जानकारी गराए।

उनले यस महोत्सवको माध्यमद्वारा संस्थाले विशेषरूपमा 14 देखि 49 वर्ष उमेरमा मानिसहरूलाई ध्यान केन्द्रित गरिरहेको पनि बताए। उनले सिक्किममा साङ्गीतिक ब्याण्डहरूको संख्या उत्साहजनक रहेको बताउॅंदै सबैलाई भाग लिन आह्वान गरे। यस प्रतियोगितामा इच्छुक साङ्गीतिक ब्याण्डहरूले नि:शुल्क रूपमा भाग लिन सक्ने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande