भारतसँगको शृङ्खलापछि अस्ट्रेलियाकी कप्तान एलिसा हिलीले क्रिकेटका सबै प्रारूपबाट संन्यास लिने
आलिसा हिली


मेलबर्न, १३ जनवरी (हि.स.)।

अस्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान तथा दिग्गज विकेटकिपर–ब्याटर एलिसा हिलीले भारतविरुद्ध हुने आगामी घरेलु बहु–प्रारूप शृङ्खला (फरवरी–मार्च) पछि अन्तरराष्ट्रिय क्रिकेटका सबै प्रारूपबाट संन्यास लिने घोषणा गरेकी छन्। यद्यपि उनले यस शृङ्खलाका टी–२० खेलहरूमा सहभागिता जनाउने छैनन्, तर एकदिवसीय (वनडे) र पर्थमा आयोजना हुने एकमात्र डे–नाइट टेस्ट खेलमा अस्ट्रेलियाको कप्तानी गर्नेछिन्।

टी–२० विश्वकप २०२६ को तयारीलाई ध्यानमा राख्दै हिलीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटबाट टाडा रहने निर्णय गरेकी हुन्। अस्ट्रेलियाका पूर्व दिग्गज विकेटकिपर इयान हिलीकी भतिजी एलिसा हिलीले सन् २०१० मा १९ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेकी थिइन्। आफ्नो करियरको अन्त्यसम्म उनले अस्ट्रेलियाका लागि १६२ टी–२० आई, १२६ वनडे र ११ टेस्ट खेल खेलिसकेकी हुनेछन्। टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा उनका नाममा विकेटकिपरका रूपमा कीर्तिमानी १२६ डिसमिसल दर्ज छन्।

मेग ल्यानिङको संन्यासपछि सन् २०२३ मा एलिसा हिलीले अस्ट्रेलिया महिला टोलीको पूर्णकालिक कप्तानी सम्हालेकी थिइन्। कप्तानका रूपमा उनको सबैभन्दा ठूलो उपलब्धि इंग्ल्यान्डविरुद्ध १६–० ले ऐतिहासिक एसेज क्लिन स्वीप जित हो। उनको नेतृत्वमा अस्ट्रेलियाले २०२४ महिला टी–२० विश्वकप तथा २०२५ महिला वनडे विश्वकपको सेमिफाइनलसम्म यात्रा गरेको थियो।

महिला क्रिकेटकी सबैभन्दा विस्फोटक ब्याटर तथा उत्कृष्ट विकेटकिपरमध्ये एक मानिने एलिसा हिली आठ वटा आईसीसी विश्वकप विजेता अभियान (छ टी–२० र दुई वनडे) को हिस्सा रहिसकेकी छन्। उनका नाममा विश्वकप फाइनलमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर र महिला टी–२० आईमा विकेटकिपरद्वारा सबैभन्दा बढी डिसमिसल जस्ता थुप्रै कीर्तिमान छन्। उनी २०२२ कमनवेल्थ गेम्समा स्वर्ण पदक जित्ने अस्ट्रेलिया टोलीकी सदस्य पनि थिइन्।

व्यक्तिगत पुरस्कारतर्फ एलिसा हिलीलाई सन् २०१९ मा बेलिन्डा क्लार्क अवार्ड प्रदान गरिएको थियो। साथै, उनी २०१८ र २०१९ मा आईसीसी महिला टी–२० आई क्रिकेटर अफ द इयर घोषित भएकी थिइन्।

घरेलु क्रिकेटमा हिलीले सिड्नी सिक्सर्सको प्रतिनिधित्व गर्दै विमेन्स बिग ब्यास लिगका ११ सिजनमा ३,००० भन्दा बढी रन बनाइन् र दुई उपाधि जितिन्। यसका साथै उनले विमेन्स प्रिमियर लिगका दुई सिजन खेलेकी छिन् र यूपी वारियर्स टोलीको कप्तानी पनि गरेकी थिइन्।

संन्यासको घोषणा गर्दै एलिसा हिलीले आधिकारिक वक्तव्यमा भनिन्, “मिश्रित भावनासहित म भन्न चाहन्छु कि भारतविरुद्धको आगामी शृङ्खला अस्ट्रेलियाका लागि मेरो अन्तिम हुनेछ। म अझै पनि देशका लागि खेल्न मन पराउँछु, तर जुन प्रतिस्पर्धी धारले मलाई यति वर्षसम्म प्रेरित गर्‍यो, त्यो अब पहिले जस्तो रहेन। मलाई लाग्छ, यो नै सही समय हो।”

उनले थप भनिन्, “म यस वर्षको टी–२० विश्वकपको हिस्सा हुनेछुइन र टोलीको सीमित तयारीलाई ध्यानमा राख्दै भारतविरुद्धका टी–२० खेलहरू पनि नखेल्ने निर्णय गरेकी छु। तर घरेलु मैदानमै वनडे र टेस्ट टोलीको कप्तानी गर्दै आफ्नो करियर समाप्त गर्न पाउनु मेरो लागि विशेष हुनेछ।”

क्रिकेट अस्ट्रेलियाका सीईओ टड ग्रीनबर्गले एलिसा हिलीलाई ‘अल–टाइम ग्रेट’ को संज्ञा दिँदै महिला क्रिकेटमा उनको योगदानको प्रशंसा गरे। उनले भने, हिलीको प्रभाव मैदानभित्र मात्र नभई मैदान बाहिर पनि अमूल्य रह्यो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande