
देहरादून, 13 जनवरी (हि.स.)। उत्तराखण्डको कुमाऊँ मण्डल अन्तर्गत बागेश्वर जिल्लामा आज बिहान ७:२५ बजी भूकम्पको धक्का महसुस गरियो। रिक्टर स्केलमा भूकम्पको तीव्रता ३.५ मापिएको छ। बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा सतर्कताका रूपमा आफ्ना घरबाट बाहिर निस्किएका थिए।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, भूकम्पको केन्द्र बागेश्वरमै रहेको र यसको केन्द्रबिन्दु जमिनदेखि लगभग १० किलोमिटर गहिराइमा रहेको बताइएको छ। केन्द्र सतह नजिक भएकाले भूकम्पको धक्का स्पष्ट रूपमा महसुस गरिएको हो।
भूकम्पको प्रभाव बागेश्वरबाट लगभग १७४ किलोमिटर टाडा ऋषिकेश र १८३ किलोमिटर टाडा हरिद्वारसम्म महसुस गरिएको बताइएको छ। राज्य आपदा व्यवस्थापन प्राधिकरणका अनुसार, भूकम्पपछि स्थानीय प्रशासनलाई सतर्क अवस्थामा राखिएको छ।
हालसम्म कुनै पनि प्रकारको ज्यान–मालको क्षतिको सूचना प्राप्त भएको छैन। तर केही स्थानीयले भूकम्पको धक्कासँगै गडगडाहटजस्तो आवाज सुनिएको बताएका छन्, जसका कारण त्रासको वातावरण बनेको थियो। प्रशासनले परिस्थितिमाथि निरन्तर निगरानी गरिरहेको छ।
विज्ञहरूका अनुसार, कम तीव्रताका भूकम्प प्रायः हानिकारक हुँदैनन्, तर पहाडी क्षेत्रमा विशेष सतर्कता अपनाउनु आवश्यक हुन्छ। प्रशासनले सर्वसाधारणलाई नआत्तिन र आपतकालीन अवस्थामा स्थानीय प्रशासनसँग सम्पर्क गर्न आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी