
जयपुर, १५ जनवरी (हि.स.)। भारतीय सेनाको ७८औँ सेना दिवस परेड बुधबार पहिलोपटक आर्मी एरियाबाहिर जयपुरको जगतपुरास्थित महल रोडमा आयोजना गरियो। परेड हेर्न सडकका दुवै छेउ हजारौँ मानिसको भीड लागेको थियो।
परेडका क्रममा सेनाको आधुनिक सैन्य शक्ति र परम्परागत शौर्यको प्रभावशाली प्रदर्शन गरियो। सर्वसाधारणले ब्रह्मोस मिसाइल, पिनाका मल्टि–ब्यारेल रकेट लञ्चर तथा अन्य अत्याधुनिक हतियार प्रणाली नजिकबाट अवलोकन गर्ने अवसर पाए। आकाशमा अपाचे आक्रमण हेलिकप्टरहरूले फ्लाइ–पास्ट गर्दै युद्धक क्षमता प्रदर्शन गरे र हेलिकप्टरबाट पुष्पवर्षा पनि गरियो।
परेडको शुरुआत अपरेशन ‘सिन्दूर’ मा शहीद भएका जवानहरूलाई मरणोपरान्त सेना मेडल (वीरता) प्रदान गरेर गरियो। यस क्रममा १ प्यारा स्पेसल फोर्सका शहीद लान्स नायक प्रदीप कुमारकी आमाले सम्मान ग्रहण गर्ने बेला अचानक बेहोस भइन्। त्यहाँ उपस्थित सैन्य अधिकारीहरूले उनलाई सम्हाली तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल पठाए।
त्यसपछि ग्यालेन्ट्री अवार्डबाट सम्मानित अधिकारीहरूले परेड कमाण्डरलाई सलामी दिए। परमवीर चक्र, अशोक चक्र र महावीर चक्रबाट सम्मानित अधिकारीहरूले परेडको नेतृत्व गरेका थिए। परेड महल रोडस्थित जीवन रेखा अस्पताल चोकदेखि बम्बे अस्पताल चोकसम्म लगभग तीन किलोमिटर क्षेत्रमा आयोजना गरिएको थियो। दर्शकहरूको सुविधाका लागि १८ स्थानमा पार्किङ व्यवस्था गरिएको थियो।
परेडमा भारतीय सेनाको ४६ मिटर लामो मोड्युलर ब्रिज पनि प्रदर्शन गरियो, जुन नदी र खाडलहरू छिटो पार गर्न प्रयोग गरिन्छ। यसका साथै नेपाल आर्मी ब्यान्डले पनि परेडमा सहभागिता जनाउँदै भारत–नेपालबीचको सैन्य मैत्रीको सन्देश दियो। ६१औँ क्याभलरीका घुड़सवार दलले पनि परेडमा भाग लिए। सन् १९५३ मा स्थापना भएको यो विश्वकै एकमात्र सक्रिय घुड़सवार क्याभलरी रेजिमेन्ट हो, जसले इतिहासमा अन्तिम घुड़सवार चार्जको नेतृत्व गर्ने गौरव प्राप्त गरेको छ। परेडमा राजस्थानी संस्कृतिको झल्को पनि देख्न पाइयो।
सेना दिवस परेडका मुख्य अतिथि मिजोरमका राज्यपाल जनरल वीके सिंह रहेका थिए। यस अवसरमा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, राजस्थानका राज्यपाल हरिभाऊ बागडे, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानसहित सेनाका वरिष्ठ अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी