
नयाँ दिल्ली, १५ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लोकतन्त्रको वास्तविक अर्थ समाजको अन्तिम पंक्तिमा उभिएको व्यक्तिसम्म विकास र कल्याणको लाभ पुर्याउनु रहेको बताएका छन्। उनले सरकार बिना कुनै भेदभाव लोककल्याणको भावनासहित सबै नागरिकका लागि काम गरिरहेको र यही कारण पछिल्ला केही वर्षमा लगभग २५ करोड मानिस गरिबीबाट बाहिर निस्कन सफल भएको बताए।
प्रधानमन्त्री मोदीले बिहिबार संसद भवन परिसरस्थित संविधान सदनको केन्द्रिय कक्षमा आयोजित राष्ट्रमण्डलका अध्यक्ष तथा पीठासीन अधिकारीहरूको २८औँ सम्मेलनको उद्घाटनपछि सम्मेलनलाई सम्बोधन गर्दै यी विचार व्यक्त गरेका हुन्।
उनले सम्मेलन भइरहेको ऐतिहासिक केन्द्रिय कक्ष भारतको लोकतान्त्रिक यात्राको अत्यन्त महत्वपूर्ण स्थल रहेको बताए। गुलामीका अन्तिम वर्षहरूमा जब भारतको स्वतन्त्रता सुनिश्चित भइसकेको थियो, त्यही समयमा यसै केन्द्रिय कक्षमा संविधान सभाका बैठकहरू सम्पन्न भएका थिए। स्वतन्त्रतापछि लगभग ७५ वर्षसम्म यही भवन भारतको संसद रह्यो, जहाँ देशको भविष्यसँग सम्बन्धित धेरै महत्वपूर्ण निर्णय र बहसहरू भए। अब लोकतन्त्रलाई समर्पित यस ऐतिहासिक स्थललाई ‘संविधान सदन’ नाम दिइएको छ।
प्रधानमन्त्रीले भने, यो चौथो पटक हो जब राष्ट्रमण्डलका अध्यक्ष तथा पीठासीन अधिकारीहरूको सम्मेलन भारतमा आयोजना भइरहेको छ। यस पटक सम्मेलनको मुख्य विषय संसदीय लोकतन्त्रको प्रभावकारी कार्यप्रणाली र जनकल्याणसम्म त्यसको पहुँच रहेको छ।
संसदीय लोकतन्त्रमा अध्यक्षको भूमिकाबारे प्रकाश पार्दै प्रधानमन्त्रीले भने, अध्यक्षको काम आफैं धेरै बोल्नु होइन, बरु अरूको कुरा ध्यानपूर्वक सुन्नु र सबैलाई समान अवसर दिनु हो। अध्यक्षको धैर्यले नै लोकतन्त्रको गरिमा कायम राख्छ र उनीहरूले होहल्ला वा अत्यधिक उत्साही सदस्यहरूलाई पनि मुस्कानसहित सम्हाल्ने गर्छन्।
प्रधानमन्त्री मोदीले भने, स्वतन्त्रताका बेला धेरैलाई यति विविधतायुक्त देशले लोकतन्त्र सफलतापूर्वक सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने शंका थियो। तर, भारतले आफ्नो विविधतालाई लोकतन्त्रको शक्ति बनाएको छ। भारतले प्रमाणित गरेको छ कि लोकतान्त्रिक संस्था र प्रक्रियाले विकासलाई स्थायित्व, गति र व्यापकता प्रदान गर्छन्।
उनले भने, आज भारत विश्वको सबैभन्दा छिटो बढिरहेको प्रमुख अर्थतन्त्र हो। भारतमा विकसित एकीकृत भुक्तानी प्रणाली (यूपीआई) आज विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी प्रणाली बनेको छ। भारत हाल विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश हो र इस्पात उत्पादनमा दोस्रो स्थानमा रहेको छ।
प्रधानमन्त्रीले थप भने, भारतमा आज विश्वको तेस्रो सबैभन्दा ठूलो नवप्रवर्तन तथा स्टार्टअप वातावरण छ। भारत विश्वको तेस्रो ठूलो उड्डयन बजार बनेको छ। यससँगै भारतसँग विश्वको चौथो ठूलो रेल सञ्जाल र तेस्रो ठूलो मेट्रो रेल सञ्जाल रहेको छ।
प्रधानमन्त्री मोदीले लोकतन्त्र भारतका लागि सर्वोपरि भएको उल्लेख गर्दै जनताका सपनालाई प्राथमिकतामा राखेर सरकारले नीति निर्माणदेखि प्रविधिसम्म सबै क्षेत्रमा लोकतान्त्रिक सोच अपनाएको बताए, ताकि विकासको मार्गमा कुनै अवरोध नआओस्।
कोरोना महामारीको उल्लेख गर्दै उनले भने, कठिन समयमा पनि भारतले आफ्ना आवश्यकतासँगै १५० भन्दा बढी देशहरूलाई औषधि र खोप उपलब्ध गराएको थियो। मानवताको सेवा, जनकल्याण र विश्वप्रति जिम्मेवारीको भावना भारतको संस्कृति र लोकतान्त्रिक मूल्यहरूको अभिन्न हिस्सा हो।
प्रधानमन्त्रीले भने, भारत हरेक वैश्विक मञ्चमा ग्लोबल साउथका हितहरूलाई दृढतापूर्वक उठाइरहेको छ। आफ्नो जी–२० अध्यक्षताका क्रममा पनि भारतले ग्लोबल साउथका चिन्ताहरूलाई विश्वव्यापी एजेन्डाको केन्द्रमा राखेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी