बंगलादेशमा जमात–ए–इस्लामीद्वारा घटक दलहरूसँग २५३ सिटको सिट बाँडफाँड घोषणा
Bangladesh election


ढाका, १६ जनवरी (हि.स.)। बंगलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको गठबन्धनले फरवरी १२ मा हुने १३औँ संसदीय निर्वाचनका लागि २५३ सिटमा सिट बाँडफाँडको घोषणा गरेको छ। जमात 179 सीट, नेशनल सिटिजन पार्टी (एनसीपी) 30, बांग्लादेश खिलाफत मजलिस 20, खिलाफत मजलिस 10, लिबरल डेमोक्रेटिक पार्टी सात, एबी पार्टी तीन, निजामे इस्लामी पार्टी दुई र बांग्लादेश डेभलपमेन्ट पार्टी दुई सीटमा चुनाउ लड्ने छ। उक्त जानकारी जमातका नायब-ए-अमीर सैयद अब्दुल्ला मोहम्मद ताहिरले बिहिबार अबेर साँझ संवाददाता सम्मेलनमा दिए। द ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, पत्रकार सम्मेलन ढाकाको काकरेलस्थित इन्स्टिच्युसन अफ डिप्लोमा इन्जिनियर्समा आयोजना गरिएको थियो। गठबन्धनका प्रमुख घटकमध्ये एक इस्लामी आन्दोलन बंगलादेश (आईएबी) ले उक्त पत्रकार सम्मेलन बहिष्कार गरेको थियो। ताहिरले गठबन्धनका अन्य दुई घटक—बंगलादेश खिलाफत आन्दोलन र जातीय गणतान्त्रिक पार्टी (जागपा)—लाई कति सिट दिइने भन्ने विषयमा अझै निर्णय हुन बाँकी रहेको बताए। इस्लामी आन्दोलन बंगलादेशका लागि भने ४७ सिट आरक्षित गरिएको छ।यसैबीच जमात–ए–इस्लामीले विभिन्न क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहँदा पनि निर्वाचन आयोग निष्क्रिय बनेको आरोप लगाएको छ। जमातका सहायक महासचिव हामिदुर रहमान आजादले अगरगाँउमा प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनसँग भेटपछि यस्तो आरोप लगाएका हुन्। उनले एक राजनीतिक दल खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको तर आयोगले आँखा चिम्लिएको आरोप लगाए। आचारसंहिता पालना गर्ने दलहरूलाई भने अनावश्यक रूपमा दुःख दिइएको उनको भनाइ छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande