
खड़गपुर, 16 जनवरी (हि. स.)। खड़गपुर मण्डल रेलवे प्रशासन र दक्षिण पूर्व रेलवे मेन्स यूनियन (एसईआरएमयू)-माझ स्थायी वार्ता तन्त्र (पीएनएम)- को एक महत्वपूर्ण बैठक गए बिहीवार खड़गपुर मण्डल मुख्यालयमा आयोजना गरियो।
खड़गपुर मण्डल रेल प्रबन्धक (डीआरएम) ललित मोहन पाण्डेयको अध्यक्षतामा सम्पन्न सो बैठकमा कार्मिक, इञ्जीनियरिंग, वाणिज्य, चिकित्सा, यान्त्रिक, विद्युत एवं परिचालन विभागका वरिष्ठ मण्डलीय अधिकारीगण उपस्थित थिए। एसईआरएमयूको पक्षबाट यूनियनका मण्डलीय पदाधिकारीहरूले बैठकमा भाग लिए।
बिहीवार राती रेलवे अधिकारीहरूद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, रेलवे कर्मचारीहरूसित सम्बन्धित विभिन्न मुद्दाहरूमाथि बैठकमा विस्तार पूर्वक चर्चा भयो। यसमा कर्मचारीहरूको कल्याणकारी उपाय, कन्ट्र्याक्चुअल कर्मचारीहरूको नियमतिकरण, भत्ता तथा बाँकी राशिको समयमा भुक्तान, क्रू लबी अनि विश्राम गृहमा श्रेष्ठ सुविधा, सुरक्षासित सम्बन्धित विषय, फ्रन्टलाइन कर्मचारीहरूको लागि प्रशिक्षण कार्यक्रम तथा डिपो र स्टेशनका आधारभूत ढाँचाहरूको रखरखाउ एवं आधुनिकीकरण जस्ता विषयहरू सामेल थिए।
प्रेस विज्ञप्तिमा बताइएको छ, सम्पूर्ण बैठक सौहार्दपूर्ण तथा रचनात्मक वातावरणमा सम्पन्न भयो। डीआरएमले कर्मचारीहरूको कल्याणप्रति प्रशासनको प्रतिबद्धतालाई दोहोऱ्याउँदै सुरक्षा अनि कार्यक्षमताका उच्च मानदण्डहरूलाई कायम राख्नेमाथि बल दिए।
यता यूनियन प्रतिनिधिहरूले प्रशासनद्वारा उठाइएका सकारात्मक कदमहरूको सराहना गर्दै संगठनको हितमा सहयोग जारी राख्ने बताए।बैठकको अन्तमा दुवै पक्षले रेलवे कर्मचारीहरूको हित अनि रेल परिचालनलाई अझ अधिक सुदृढ़ बनाउनको लागि मिलेर कार्य गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा