राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकार 'इमर्जिङ लिडर' अवार्डले सम्मानित
राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकार 'इमर्जिङ लिडर' अवार्डले सम्मानित


गान्तोक, 16 जनवरी (हि.स.)। स्टार्टअप इन्डिया आन्दोलनको 10 वर्ष पूरा भएको अवसरमा मनाइएको राष्ट्रिय स्टार्टअप दिवस २०२६ मा सिक्किम सरकारलाई प्रतिष्ठित “इमर्जिङ लिडर” अवार्डले सम्मानित गरिएको छ। स्टार्टअप इन्डिया फ्रेमवर्कअन्तर्गत राज्यले पहिलो पटक राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ। यस पुरस्कारले नवप्रवर्तन र स्टार्टअप इकोसिस्टमलाई सुदृढ़ बनाउने दिशामा सिक्किमको बढ्दो नेतृत्व र दृढ़ प्रतिबद्धतालाई स्वीकार गरेको राज्य वाणिज्य एवं उद्योग विभागले आज प्रेस विज्ञप्तिमा बताएको छ।

पुरस्कार समारोह आज नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना गरिएको थियो। समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको उपस्थिति रहेको थियो। सिक्किम सरकारको तर्फबाट उक्त पुरस्कार वाणिज्य एवं उद्योग विभागकी सचिव कर्म युत्सो र विभागकी विशेष सचिव छोडेन ग्याछो र निर्देशक रवि कुमारले ग्रहण गरे।

“इमर्जिङ लिडर” श्रेणीले अग्रगामी नीतिहरू, सुदृढ़ संस्थागत समर्थन, उद्यमशीलता प्रवर्द्धन तथा नवप्रवर्तन–केन्द्रित पहलमार्फत स्टार्टअप सक्षम वातावरण निर्माणमा उल्लेखनीय प्रगति गरेका राज्यहरूलाई मान्यता दिन्छ। सिक्किमको यो पहिलो राष्ट्रिय स्टार्टअप अवार्डले स्थानीय उद्यमीहरूको पोषण, प्रारम्भिक चरणका उद्यमहरूको समर्थन तथा दिगो र समावेशी आर्थिक वृद्धिका लागि सक्षम वातावरण निर्माणमा राज्यले गरेका निरन्तर प्रयासहरूलाई उजागर गर्दछ भनी विभागले बताएको छ।

वाणिज्य एवं उद्योग विभागका अधिकारीहरूले लक्षित नीतिगत हस्तक्षेप, इन्क्युबेसन सहयोग, वित्त पहुँचको सुदृढीकरण तथा शैक्षिक संस्थान र उद्योग साझेदारसँगको सहकार्य विस्तारमार्फत सिक्किमको स्टार्टअप इकोसिस्टमलाई थप सशक्त बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande