उद्यमशीलताको यात्रामा अघि बढ्नु समयको माग: गणेश राई
Ganesh Kumar Rai


गान्तोक, 16 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) का अध्यक्ष गणेश कुमार राईले‌ नयाँ व्यवसायिक विचारहरू अन्वेषण गर्नु, नवप्रवर्तनलाई अंगाल्नु र उद्यमशीलताको यात्रामा अघि बढ्नु समयको माग रहेको बताएका छन्। राष्ट्रिय स्टार्टअप दिवससमा युवाहरूलाई उनले यस्तो सन्देश दिएका छन्।

सीएपी अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, १६ जनवरीमा मनाइने राष्ट्रिय स्टार्टअप दिवसको अवसरमा नयाँ भारत निर्माणतर्फ अग्रसर नवप्रवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको भावनालाई हामी सम्मान गर्दछौं। यो दिन स्टार्टअपहरूले रोजगारी सिर्जना, आर्थिक विकासलाई गति दिनुका साथै भविष्यका लागि दिगो समाधानहरू निर्माण गर्न सक्ने अपार सम्भावनाको स्मरण गराउँछ।उनले सिक्किमका युवाहरूको ध्यान आकर्षित गर्दै भनेका छन्, आजको आवश्यकता भनेको हाम्रा युवा मनहरूले नयाँ व्यवसायिक विचारहरू अन्वेषण गर्नु, नवप्रवर्तनलाई अंगाल्नु र उद्यमशीलताको यात्रामा अघि बढ्नु हो। सिक्किममा प्रतिभा, सृजनशीलता र दृढ संकल्पको कुनै कमी छैन। सही दृष्टि र साहसका साथ हाम्रा युवाहरू रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने बन्न सक्छन्।

उनले सिक्किमका धेरै स्टार्टअपहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान हासिल गरिसकेका छन् भन्दै यसले सानो हिमाली राज्यबाट पनि ठूला विचारहरूले विश्वसम्म पुग्न सक्छन् भन्ने प्रमाणित गर्छ भनी बताएका छन्। यी सफलताका कथाहरूले थप युवाहरूलाई सपना देख्न, नवप्रवर्तन गर्न र सिक्किम तथा राष्ट्रको प्रगतिमा योगदान दिने उद्यमहरू निर्माण गर्न प्रेरणा दिऊन् उनले कामना गरेका छन्।

सीएपी अध्यक्षले हामी सबैले सशक्त स्टार्टअप संस्कृतिलाई प्रोत्साहन र समर्थन गरौँ, ताकि हाम्रा युवाहरू आत्मनिर्भर र समृद्ध भविष्यतर्फ सिक्किमलाई नेतृत्व गर्न सकून् आह्वान पनि गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande