
गान्तोक, 16 जनवरी (हि.स.)। उत्तर सिक्किम घुम्न गएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृतक महिलाको नाम आफ्रिन खान बताइएको छ। 47 वर्षीय महिला पश्चिम बंगालको बड़ी बजार, कोलकाता निवासी थिइन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, आफ्रिन खान आफ्नी छोरी-ज्वाई र आफन्तहरूसॅंग उत्तर सिक्किमको लाचुङ घुम्न गएकी थिइन्। उनी अलि बिसञ्चो नै थिइन्। तरै, पनि उनी सबैसॅंग युमेसामदोङ जिरो पोइन्ट घुम्न गइन्। फर्केर आएपछि पनि उनको स्वास्थ्यमा सुधार भएको थिएन। बेलुकी खाना खाएर उनी सुत्न गइन्।
बुधवार राति लगभग 2 बजीतिर उनी अचानक सिकिस्त भइन्। उनीलाई सास फेर्न गाह्रो हुनुका साथ अचेत भइन्। यसपछि, उनलाई तत्काल लाचुङ आर्मी क्याम्पस्थित सेनाको अस्पतालमा लगियो। अस्पतालमा जॉंचपछि चिकित्सा अधिकारीले उनलाई मृत घोषित गरे।
यस घटनाको सम्बन्धमा लाचुङ पुलिस थानामा बीएनएसएस, 2023 को धारा 194 अन्तर्गत अस्वाभाविक मृत्युको मामिला दर्ता गरिएको छ। शव पोस्टमार्टमको लागि पठाएको छ भने पुलिसले मामिलाको जॉंच गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल