
पाकिम, 16 जनवरी (हि.स.)। पाकिमस्थित थुम्की डॉंड़ा र अम्बा डॉंड़ामा आजदेखि तीनदिवसीय फ्लाइङ फेस्टिभल तथा प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनसिप २०२६ औपचारिक रूपमा शुरू भएको छ। यस कार्यक्रमको उद्घाटन् मुख्यमन्त्रीका सल्लाहकार बिष्णु कुमार खतिवडा, पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा र जन कल्याण प्रकोष्ठका संरक्षक प्रभाकर गोलेको उपस्थितिमा गरियो।
उक्त कार्यक्रमको आयोजना रिनाक पर्यटन विकास समितिद्वारा पर्यटन तथा नागरिक उड्डयन विभागको सहकार्यमा गरिएको हो। यस कार्यक्रमको मुख्य उद्देश्य रिनाक क्षेत्रलाई उदीयमान साहसिक तथा समुदाय आधारित पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
16 देखि 18 जनवरीसम्म सञ्चालन हुने प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनशिपमा सिक्किमसँगै भारतका मिजोरम, असम, मेघालय, बोडोल्याण्ड टेरिटोरियल काउन्सिल, हिमाचल प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, लद्दाख, गोवा तथा अरुणाचल प्रदेशलगायत छिमेकी देश नेपाल गरी जम्मा ६२ जना प्याराग्लाइडरहरूको सहभागिता रहेको छ।
च्याम्पियनशिपमा रेडियो सञ्चार प्रणाली, नेभिगेशन उपकरणलगायतका आधुनिक प्राविधिक साधनहरू प्रयोग गरिनुका साथै उद्धार टोली र एम्बुलेन्स सेवासहित उच्चस्तरीय सुरक्षा व्यवस्था सुनिश्चित गरिएको जानकारी गराइएको छ। उडानहरू अम्बा डॉंड़ा र थुम्की डॉंड़ा गरी दुई स्थानहरूबाट सञ्चालन भइरहेका छन्। प्रतिस्पर्धा २० सेन्टिमिटरको इलेक्ट्रोनिक टार्गेट उपकरण प्रयोग गरी मूल्याङ्कन गरिनेछ, जसमा मौसमअनुसार न्यूनतम चार र अधिकतम बाह्र चरणसम्म उडान गराइनेछ।
प्रतियोगिताको निर्णय नेपाल, मिजोरम, असम, दार्जिलिङ तथा सिक्किमका निर्णायकहरूद्वारा गरिने छ। विजेताहरूलाई व्यक्तिगत तथा समूह विधामा पुरस्कार प्रदान गरिनेछ भने सबै महिला सहभागीहरूलाई सान्तवना पुरस्कार प्रदान गरी साहसिक खेलकुदमा महिलाको सहभागिताको निम्ति प्रोत्साहित गरिनेछ।
उल्लेखनीय छ, कार्यक्रमको अन्तिम दिन 18 जनवरीमा आयोजना गरिने समापन समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित रहने डीआईओ पोकिमले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल