
कुचबिहार, 17 जनवरी (हि.स)। भुटान नम्बरका वाहनहरूको जिल्लामा भइरहेको अवैध आवागमन विरूद्ध राज्य परिवहन निदेशालयले कड़ा कदम उठाएको छ। यस सम्बन्धमा राज्य सरकारद्वारा कुचबिहारका जिल्लाधिकारी कार्यालयलाई एउटा पत्र पठाइएको छ जसमा अवैध परिवहन विरूद्ध कड़ा कारबाही गर्ने निर्देश दिइएको छ।
आरोप छ, भुटान नम्बरका वाहनहरूले राज्यभित्र अवैध रूपमा स्थानीय मालको ढुवानी गरिरहेका छन्। यस अतिरिक्त चालकहरू ओभरलोडिंग गरेर माल ओसार-पोसार गर्ने कार्यमा लिप्त रहेका छन्। हालैमा यस प्रकारका केही सिकायतहरू सामु आएका थिए। त्यसपछि गत मंगलवार फेडरेशन अफ वेस्ट बंगाल ट्रक ओनर्स एसोसिएशनले परिवहन मन्त्रीलाई पत्र पठाएर यस मुद्दालाई उठायो।
पत्रमा उल्लेख गरिएको छ, भारतीय कानून अनुसार विदेशी वाहनहरूलाई अन्तर्राष्ट्रिय भूमि बन्दरगाहमा मात्र माल उतार्ने अनुमति छ, यस अतिरिक्त अन्य कुनै स्थानमा माल ढुवानी गर्ने अनुमति छैन। तथापि कुचबिहार सहित उत्तर बंगालका केही जिल्लाहरूमा यस्तो अवैध गतिविधि नियमित रूपमा भइरहेको छ। यसबाट स्थानीय माल परिवहन व्यवसाय पूर्ण रूपले प्रभावित भइरहेको छ। यहाँसम्म कि पत्रमा प्रशासनको एक वर्गको मिलोमतो रहेको आरोप पनि उल्लेख गरिएको छ।
एसोसिएशनले यो पनि आरोप लगायो, यी भुटान नम्बरका वाहनहरूले उत्तर बंगालका विभिन्न जिल्लाहरूबाट ढुङ्गा लगिरहेका छन् भने भारतका केही वाहनहरूले पनि भुटानबाट ढुङ्गा यी जिल्लाहरूमा ल्याइरहेका छन्। यी वाहनहरूसित कुनै पनि प्रकारको वैध दस्तावेज छैन। त्यसैले यहाँका वाहन मालिक मात्र नभएर चालक र हेल्पर समेत बेरोजगार भइरहेका छन्।
यस मामिलामा ट्रक ओनर्स एसोसिएशनका महासचिव सजल घोषले भने, हामीलाई पछिल्लो केही समयदेखिक यस्तो सिकायत आइरहेको भए पनि प्रशासन अहिलेसम्म उदासीन रह्यो। अब हाम्रो पत्रको प्रतिक्रिया आएपछि आशा गरिएको छ कि कानून अनुरूप कारबाही हुनेछ जसबाट परिवहन व्यवसायसित सम्बन्धित मानिसहरूको रोजगार बच्नेछ।
कुचबिहार क्षेत्रीय परिवहन कार्यालयका अधिकारी नवीनचन्द्र अधिकारीले बताए, हामी नियमित रूपमा निगरानी गर्दछौं विशेष गरी ओभरलोडिंगको मामिलामा नजर राख्दछौं। तथापि हामी योभन्दा अधिक सतर्क हुनुपर्छ।
कुचबिहारका जिल्लाधिकारी राजू मिश्राले भने, परिवहन निदेशालयबाट पत्र प्राप्त भएको छ। सम्पूर्ण मामिलाको जाँच गरी कानून अनुरूप आवश्यक कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा