
सोनादा, 17 जनवरी (हि.स.)। लामो समयदेखि जीर्णावस्थामा रहेको सोनादादेखि ग्यारेज लाइन हुँदै रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु गरिएको छ। रोड मरमत्तिलाई ध्यानमा राख्दै गाडीहरु सञ्चालनको लागि समय सारणी पनि जारी गरिएको छ।
यस क्षेत्रका वाहन चालकहरुलाई तोकिएको समयमा गाडी कुदाइदिने अनुरोध गरिएको छ। यस रोडको मरमत्तिको लागि लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाले बिहान 8 बजी अघि नै सबै गाडीहरू गइसक्नु पर्ने र साँझ 5 बजीपछि मात्र फर्किनु पर्ने समय सारणी जारी गरेको छ। यस रोडको मरमत्ति कार्य दिनभरि हुने भएकाले गाडीहरूको चलाचल बन्द राखिने छ भने आपतकालीन सेवाका गाडीहरूलाई भने छुट दिइने छ।
यस सम्बन्धमा एसोसिएशनले सोनादा ट्राफिक पुलिस, विभिन्न सिन्डिगेट, पिक अप भ्यान एसोसिएशन, ट्रक चालक एसोसिएशनलाई लिखितरूपमा पत्राचार गर्ने भएको छ। लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन पचेङ शाखाको तर्फबाट अवकाशप्राप्त अनरेरी कप्तान एलबी राईले रोड मरमत्तिको कार्य शुरु गरिने हुनाले समय सारणी जारी गरिएको बताएका छन्। उनले दिनभरि नै रोड मरमत्तिको कार्य हुने भएकाले सबैलाई साथ र सहयोग गरिदिन निवेदन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक