
गान्तोक, 17 जनवरी (हि.स.)। भारतीय नेपाली भाषी जात गोष्ठीको चिनारी, रैथानेपनको दस्तावेज उत्पत्ति र संस्कृति परम्परामाथि गरिएको विसद अध्ययनको पुस्तकले शोधार्थी अनि अध्ययनशील सबैलाई ध्यानाकर्षित गर्ने डा. राजकुमार छेत्रीले विश्वमा मानव सभ्यता जातीय बृहत् इतिहासः संस्कृति र परम्परामाथि किताब वार्तामा आफ्नो वार्ता राख्दै मन्तव्य व्यक्त गरे।
नेपाली साहित्य परिषद, सिक्किममा आयोजित टीबी चन्द्र सुब्बाद्वारा लिखित विश्वमा मानव सभ्यता जातीय बृहत् इतिहासः संस्कृति र परम्परामाथि आयोजित किताब वार्ताका मुख्य अतिथि पूर्व सचिव डीआर नेपाल रहेका थिए। कार्यक्रमको सभाध्यक्षता साहित्यकार प्रदुम्न श्रेष्ठले गरेका थिए। दिग्गज साहित्यिक हस्तीहरूको उपस्थितिमा सम्पन्न किताब वार्तामा पुस्तकको गहन अध्ययन गरि डा. छेत्रीले यसले बोकेको सार्थक र महत्वपूर्ण दस्तावेजको उठान गरे। उनले यो भारतबाट प्रकाशित पहिलो र महत्वपूर्ण जातीयकोश रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि नेपालले यो पुस्तक नेपाली समुदायको गहन अध्ययन र ज्ञानवर्धक रहेको बताउँदै यसलाई दैनिक रूपमा पल्टाएर हेर्नुपर्ने कही न कही ज्ञान र सूचनाको भण्डार रहेको आशय व्यक्त गरे। शुरुमा दुर्गम कार्य जस्तो लागेको तर अहिले किताब बनिसकेपछि लेखकले जातिको निम्ति महत्वपूर्ण योगदान दिएको बताउँदै सबैको निम्ति धेरै उपयोगी किताब रहेको बताए।
सभाध्यक्ष श्रेष्ठले लेखक सुब्बाले अध्यारोबाट उज्यालोतिरको यात्रा गर्ने कार्य गरेको तथा यसले समग्र जातिलाई उज्यालोतिर डोहोऱ्याउने कार्य गरेको बताए। उनले सकारात्मक रूपमा साहित्य अभ्यासमा निन्तर लागेका सुब्बाले नसोचेका कार्यहरू नै गर्दै आएको एक आँटिलो साहित्य सर्जक रहेको बताए। उनले यसअघिका पुस्तकहरूको पनि संक्षिप्त चर्चा गरे।
आफ्नो कुरा राख्दै लेखकले किताब प्रकाशनको अवधिका अनुभवहरू साझा गरे। यसलाई विशेष रूपमा भारतमा नेपाली भाषीहरूलाई विदेशी हुन भन्ने लागिरहने लाक्षणालाई मेटाउन र सत्य तथ्य तथा नेपालीहरू माटोसितै भारतमा रहेको कुरालाई पुष्टि गर्नु नै मुख्य उद्देश्य रहेको बताए। उनले आफूले यसअघि गरेका कुराहरूको पनि विशेष चर्चा राख्दै यसलाई सिक्किम सरकारले किनिदिने बचन दिएको अनि त्यो पुरा हुने आशा पनि व्यक्त गरे। त्यसो भएको खण्डमा देश विदेशको पुस्तकालयहरूमा पनि यो पुग्न सक्ने तथा यसले अध्ययताहरूलाई सहयोग पुग्ने बताए।
कवि प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा कवि प्रवीण राई जुमेली, कवि रञ्जना कार्कीले कविता बाचन गरेका थिए। कवि भक्ति शर्माले सबैलाई किनार प्रकाशनको तर्फबाट स्वागत गरेकी थिइन्। किनार प्रकाशनले आयोजन गरेको यस कार्यक्रममा सिक्किमबाट विभिन्न विधामा योगदान दिने स्रष्टाहरूलाई स्रष्टा सम्मान गरियो। जसमा जीवन शर्मा, चुडामणी खतिवडा, डा पारसमणि दङ्गाल, रञ्जना कार्की, अम्बर लाछीकाठी गुरुङ, बीएम रामुदामु र देवी राम राई (माङ्पा) सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल