
प्रयागराज (उत्तर प्रदेश), १८ जनवरी (हि.स.)। गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगमस्थलमा मौनी अमावस्याको पावन स्नान श्रद्धा र आस्थाका साथ जारी छ। संगम तटमा कल्पवास गरिरहेका श्रद्धालुहरू राति १२ बजेदेखि नै पवित्र स्नानका लागि पुग्न थालेका छन्। संगम क्षेत्र ‘हर–हर गंगे’ को जयघोषले भक्तिमय बनेको छ।
कल्पवास माघ महिनामा पौष पूर्णिमादेखि माघी पूर्णिमासम्म संगम तटमा एक महिनासम्म चल्ने कठिन साधना हो। यस अवधिमा श्रद्धालुहरूले सांसारिक मोह–माया त्याग गरी संगम तटमा बस्दै तप, जप, भजन तथा सत्संगमा लीन रहन्छन्। कल्पवासीहरूले भूमिमा शयन, दिनमा एक पटक मात्र भोजन तथा कठोर अनुशासनको पालन गर्छन्।
प्रयागराजका जिल्ला अधिकारी मनीष कुमार वर्माले जानकारी दिँदै मौनी अमावस्याको स्नान शनिबार राति १२ बजेदेखि सुरु भएको र अहिलेसम्म ठूलो संख्यामा श्रद्धालुहरूले संगममा स्नान गरिसकेको बताए। उनका अनुसार, शुक्रबार करिब डेढ करोड श्रद्धालुहरूले पवित्र स्नान गरेका थिए।
पुलिस आयुक्त जोगेंद्र कुमारले मौनी अमावस्या स्नान पर्वलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताए। आज लगभग साढे तीन करोड श्रद्धालुहरूले संगममा स्नान गर्ने अनुमान गरिएको छ। सुरक्षा दृष्टिकोणले मेला पुलिसले संगम क्षेत्रको जल, स्थल तथा नभमार्गबाट निगरानी गरिरहेको छ।
माघ मेला पुलिस अधीक्षक नीरज कुमार पाण्डेयले सबै मार्गबाट स्नान घाटसम्म पुग्ने तथा फर्कने प्रवेश र निकास द्वारहरूलाई साइनेजमार्फत स्पष्ट रूपमा देखाइएको जानकारी दिए। भीड अत्यधिक बढ्ने अवस्था आएमा मेला क्षेत्रमा भण्डारा तथा प्रसाद वितरणलाई अस्थायी रूपमा रोक्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी