
ढाका, 02 जनवरी (हि.स.)। बंगलादेशले अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङबाट १४ वटा विमान खरिद गर्ने सैद्धान्तिक निर्णय गरेको छ। यसमा आठवटा बोइङ ७८७–१० ड्रीमलाइनर, दुईवटा बोइङ ७८७–९ ड्रीमलाइनर र चारवटा बोइङ ७३७–८ म्याक्स विमान समावेश छन्। बिमान बंगलादेश एयरलाइन्स (बीबीए) ले आफ्नो वार्षिक साधारण सभामा फ्लीट विस्तार योजनाअन्तर्गत बोइङका विमान खरिद गर्ने निर्णय गरेको हो।
बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार, यो निर्णय मंगलबार गरिएको हो। बैठकमा बिमान बंगलादेश एयरलाइन्सले आफ्नो फ्लीट विस्तार तथा आधुनिकीकरणका लागि प्रतिस्पर्धी एयरबसलाई छाडेर अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङबाट १४ वटा विमान खरिद गर्ने सैद्धान्तिक निर्णय गरेको बताइएको छ। उक्त बैठकमा बिमानका बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष तथा नागरिक उड्डयन र पर्यटन सल्लाहकार शेख बशीर उद्दीनको उपस्थिति थियो।
बिमानकी महाप्रबन्धक (जनसम्पर्क) बोसरा इस्लामले जानकारी दिँदै टेक्नो–फाइनान्स कमिटीको सिफारिसअनुसार मूल्य वार्ता र अन्य सर्तहरूको अधीनमा १४ वटा बोइङ विमान खरिदलाई सैद्धान्तिक स्वीकृति दिइएको बताइन्। अन्तरिम सरकारले यसअघि अमेरिका–बंगलादेश व्यापार घाटा कम गर्ने प्रयासअन्तर्गत बोइङबाट विमान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। स्रोतहरूका अनुसार, आवश्यक औपचारिकता पूरा भएपछि बोइङसँग अन्तिम सम्झौतामा हस्ताक्षर गरिनेछ।
अधिकारीहरूका अनुसार, बोइङ ७८७ ड्रीमलाइनर चौडा–बडी विमान हुन्, जुन लामो दूरीका अन्तरराष्ट्रिय उडान मार्गका लागि डिजाइन गरिएका छन्। बोइङ ७३७–८ नैरो–बडी विमान हो, जसको प्रयोग सामान्यतया छोटो क्षेत्रीय तथा घरेलु उडानका लागि गरिन्छ। बोसरा इस्लामले भनिन्, यो निर्णय फ्लीट आधुनिकीकरणतर्फको एक महत्वपूर्ण कदम हो। यसले बंगलादेश र अमेरिकाबीचको उड्डयन सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी