नितिन नबीन भाजपाका १२औँ राष्ट्रिय अध्यक्ष बने, मोदीको उपस्थितिमा भयो घोषणा
मोदी नितिन नबीन


नयाँ दिल्ली, २० जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले आज नितिन नबीनलाई आफ्नो नयाँ राष्ट्रिय अध्यक्षका रूपमा पाएको छ। दीनदयाल मार्गस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रिय अध्यक्षको निर्वाचन प्रक्रिया सञ्चालन गरिरहेका मुख्य निर्वाचन अधिकारी डा. के. लक्ष्मणले मंगलबार पूर्वाह्न ११ बजी नितिन नबीन निर्विरोध रूपमा भाजपाका १२औँ राष्ट्रिय अध्यक्ष निर्वाचित भएको घोषणा गरे। घोषणा भएसँगै पार्टी मुख्यालयमा उपस्थित ठूलो सङ्ख्याका कार्यकर्ताहरूमा उत्साह छायो। कार्यकर्ताहरूले ढोल बजाउँदै र नाराबाजी गर्दै खुशी व्यक्त गरे।

प्रधानमन्त्री मोदीले नितिन नबीनलाई पुष्पमाला अर्पण गर्दै भाजपा अध्यक्ष बनेकोमा बधाई तथा सफल नेतृत्वका लागि शुभकामना दिए। निवर्तमान अध्यक्ष जगत प्रकाश नड्डाले पनि नबीनलाई बधाई तथा शुभेच्छा व्यक्त गरे। यस अवसरमा भाजपा मुख्यालयको मञ्चमा पूर्व भाजपा अध्यक्ष तथा केन्द्रिय मन्त्री जे. पी. नड्डा, केन्द्रिय गृह मन्त्री अमित शाह, केन्द्रिय मन्त्री नितिन गडकरी र रक्षा मन्त्री राजनाथ सिंह उपस्थित थिए। उनीहरूले पनि नितिन नबीनलाई बधाई दिए।

स्वागत सम्बोधनमा जे. पी. नड्डाले नितिन नबीनले विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा पदभार सम्हाल्न लागेको बताए। उनले श्यामा प्रसाद मुखर्जीको नेतृत्वमा जनसंघका रूपमा शुरु भएको यो महान् पार्टीलाई अटल बिहारी वाजपेयी, लालकृष्ण आडवाणी र कुशाभाऊ ठाकरेले भाजपा रूपमा अघि बढाएको स्मरण गराए।

नड्डाले आजको दिन ऐतिहासिक रहेको उल्लेख गर्दै विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टी भाजपाको नेतृत्व एक युवा, ऊर्जावान र प्रतिभाशाली व्यक्तित्व नितिन नबीनले सम्हाल्न लागेको बताए। उनले भने, “नितिन नबीन मूलतः एक समर्पित कार्यकर्ता हुन्, वैचारिक रूपमा परिपक्व छन् र सानै उमेरमा पाँच पटक विधायक भइसकेका छन्। हाल पनि उनी विधायक छन्। बिहार सरकारमा उनले धेरै पटक मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रिय युवा मोर्चाका महासचिवका रूपमा उनले देशभर भ्रमण गर्ने अवसर पाए र देशलाई नजिकबाट बुझ्न सके। उनी सिक्किमका प्रभारी पनि रहे र छत्तीसगढका प्रभारीका रूपमा भाजपा सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।”

उल्लेखनीय छ, १६ जनवरीमा भाजपा राष्ट्रिय अध्यक्ष निर्वाचन कार्यक्रमको अधिसूचना जारी गरिएको थियो र सोही दिन मतदाता सूची प्रकाशन गरिएको थियो। त्यसअनुसार सोमबार १९ जनवरी अपराह्न २ बजीदेखि साँझ ४ बजेसम्म पार्टीको केन्द्रिय मुख्यालयमा नामांकन प्रक्रिया सम्पन्न भएको थियो। राष्ट्रिय अध्यक्ष पदका लागि केवल कार्यकारी अध्यक्ष नितिन नबीनले मात्र उम्मेदवारी दर्ता गरेका थिए। कुल ३७ सेट नामांकन पत्र दर्ता भएका थिए, सबै नितिन नबीनकै पक्षमा थिए। जाँचपछि सबै नामांकन पत्र नियमअनुसार वैध ठहरिएका थिए।

राष्ट्रिय अध्यक्ष निर्वाचन प्रक्रिया शुरु गर्नुअघि ३६ प्रदेशमध्ये ३० प्रदेशमा प्रदेश अध्यक्षहरूको निर्वाचन सम्पन्न भइसकेको थियो, जुन न्यूनतम आवश्यक ५० प्रतिशतभन्दा बढी हो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande