म भाजपा कार्यकर्ता, नितिन नवीन मेरा मालिक हुन्- मोदी
मोदी


नयाँ दिल्ली, 20 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भारतीय जनता पार्टी (भाजपा) का नयाँ राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई बधाई दिँदै आफूलाई पार्टी कार्यकर्ता बताउँदै पार्टीको मामिलामा नितिन नवीन उनको मालिक भएको बताएका छऩ्।

दिल्ली स्थित भाजपा मुख्यालयमा आयोजित एक समारोहमा नितिन नवीनले पार्टी अध्यक्षको पदभार ग्रहण गरे। प्रधानमन्त्री मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, निवर्तमान अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र वरिष्ठ पार्टी नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

पार्टी कार्यकर्ताहरूलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले भने, म भारतीय जनता पार्टीको कार्यकर्ता हुँ, यो मेरो सबैभन्दा ठूलो गौरव हो। जब पार्टीको कुरा आउँछ नितिन नवीन जी मेरो मालिक हुन्। भाजपामा पद परिवर्तन हुन्छ तर आदर्श परिवर्तन हुँदैन, नेतृत्व परिवर्तन हुन्छ तर दिशा परिवर्तन हुँदैन। भाजपा एउटा परिवार हो, जहाँ सदस्यताभन्दा सम्बन्ध बढ़ी महत्त्वपूर्ण हुन्छ।

प्रधानमन्त्रीले भने, नितिन नवीनको जिम्मेवारी भाजपामा मात्र सीमित छैन तर राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का सबै सहयोगीहरूबीच समन्वय कायम राख्ने पनि हो। उनले आफ्नो युवा उत्साह र अनुभवका साथ नितिन नवीनले पार्टीको विरासतलाई अगाड़ी बढ़ाउने विश्वास व्यक्त गरे।

संगठन पर्वको सन्दर्भमा प्रधानमन्त्रीले भने, यो चुनाउ पार्टीको संविधानको भावना अनुसार सय प्रतिशत लोकतान्त्रिक प्रक्रिया मार्फत सम्पन्न भएको छ। यो भाजपाको लोकतान्त्रिक विश्वास, संगठनात्मक अनुशासन र कार्यकर्ता-केन्द्रित दृष्टिकोणको प्रतीक हो। उनले यो प्रक्रिया सफल बनाएकोमा देशभरिका कार्यकर्ताहरूलाई बधाई दिए।

मोदीले भने, भाजपा एक संस्कार हो र जीवनभरिको जिम्मेवारीको भाव लिएर हिँड्ने संगठन हो। हाम्रो संगठनमा पद एक व्यवस्था हो र कार्य़भार जीवनभरिको जिम्मेवारी हो। प्रधानमन्त्रीले पूर्व भाजपा अध्यक्षहरू - अटल बिहारी वाजपेयी, लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, वेंकैया नायडू, नितिन गडकरी, राजनाथ सिंह, अमित शाह र जेपी नड्डा - को योगदानलाई सम्झँदै उनीहरूलाई बधाई दिए।

आफ्नो राजनीतिक यात्राको सम्झना गर्दै प्रधानमन्त्रीले भने, तीन पटक प्रधानमन्त्री बन्नु र 25 वर्षसम्म सरकारको नेतृत्व गर्नु महत्वपूर्ण हो तर भाजपा कार्यकर्ता हुनु उनको लागि अझ् ठूलो गर्वको कुरा हो। नितिन नवीनले रेडियोदेखि कृत्रिम बुद्धिमत्तासम्म सबै कुरा देखेको पुस्ताको प्रतिनिधित्व गर्छन्। उनीसित युवा ऊर्जाको साथ अनुभव पनि छ।

मोदीले भने, 21औं शताब्दीको आगामी 25 वर्ष भारतको लागि महत्वपूर्ण छ, जुन विकसित भारतको शुरूआत हो। यस युगको शुरूआतमा नितिन नवीनले भाजपाको विरासतलाई अगाड़ी बढ़ाउनेछन्।

भाजपाको चुनावी सफलताको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, लामो समयसम्म सत्तामा रहन सामान्यतया गाह्रो हुन्छ तर भाजपाले यो धारणा तोड़ेको छ। गुजरात, महाराष्ट्र, मध्य प्रदेश र बिहार लगायत धेरै राज्यहरूमा भाजपाले पहिलेभन्दा पनि ठूलो बहुमतका साथ जित हासिल गरेको छ। भाजपाको स्ट्राइक रेट अतुलनीय छ।

मोदीले भने, भाजपाले शक्तिलाई आनन्दको होइन, सेवाको माध्यम बनाएको छ। यसैले गर्दा जनताको विश्वास निरन्तर बलियो भएको छ। विगत 11 वर्षमा भाजपाले पहिलो पटक हरियाणा, असम, त्रिपुरा र ओडिशामा आफ्नै बुतामा सरकारहरू गठन गरेको छ। पश्चिम बंगाल र तेलंगानामा भाजपा एक प्रमुख राजनीतिक शक्तिको रूपमा उभिएको छ।

स्थानीय निकायहरूमा पार्टीको शक्तिको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, महाराष्ट्रका 29 प्रमुख शहरहरू मध्ये 25 मा भाजपा-एनडीएले जनसमर्थन प्राप्त गरेको छ र कूल पार्षदहरूको लगभग 50 प्रतिशत भाजपाका छन्। केरलामा पनि भाजपाको लगभग 100 पार्षद छन् र तिरुवनन्तपुरममा भाजपाले 45 वर्षपछि मेयर पद जितेको छ।

सरकारको पहलहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, जनजाति समुदायको सबैभन्दा पछौटे वर्गका लागि प्रधानमन्त्री-जनमन योजना शुरू गरियो, उज्ज्वला योजनाले महिलाहरूलाई धुवाँबाट मुक्त गऱ्यो, लखपति दीदी अभियानले ग्रामीण महिलाहरूलाई सशक्त बनायो र जल जीवन मिसनले लाखौं घरपरिवारलाई धाराको पानी उपलब्ध गरायो। भाजपाले साँच्चै सामाजिक न्याय लागू गरेको छ र कल्याणकारी योजनाहरू फाइलहरूबाट गरीबहरूको घरसम्म पुर्याईएको छ। भाजपाको विकास मोडेल स्थिरता, सुशासन र संवेदनशीलतामाथि आधारित छ।

कांग्रेस पार्टीलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, पार्टीले आफ्नो पतनको समीक्षा गर्दैन किनकि यसले एउटा परिवारको बारेमा प्रश्न उठाउनेछ। उनले भाजपा कार्यकर्ताहरूलाई कांग्रेस पार्टीको गल्ती नदोहोऱ्याउने अपील गरे।

अन्तमा प्रधानमन्त्रीले फेरि एक पटक नयाँ अध्यक्ष नितिन नवीनलाई बधाई दिँदै भने, पार्टी आफूभन्दा ठूलो छ र देश पार्टीभन्दा ठूलो छ - यो हरेक भाजपा कार्यकर्ताको जीवन मन्त्र हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande