
सहारनपुर (उत्तर प्रदेश), २० जनवरी (हि.स.)। उत्तर प्रदेशको सहारनपुरमा एउटै परिवारका पाँच जनाको शव एक कोठाभित्र फेला परेको छ। मृतकहरूमा अमीन, उनकी पत्नी, आमा र दुई छोरा रहेका छन्। पाँचै जनाको निधारमा गोली लागेको निशान भेटिएको छ। अमीन र उनकी पत्नीको शव भुइँमा फेला परेको छ भने उनकी आमा र दुवै छोराको शव पलङमा भेटिएको छ। घटनास्थल नजिकै तीनवटा तमन्चा (पेस्तोल) पनि फेला परेका छन्।
सूचना पाएलगत्तै पुलिस र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घरलाई सिल गरिएको छ र सबै मृतकका मोबाइल फोनहरू नियन्त्रणमा लिइएका छन्।
थाना प्रभारीका अनुसार, मृतकहरूको पहिचान अमीन अशोक (४०), उनकी पत्नी अञ्जिता (३७), आमा विद्यावती (७०) तथा दुई छोरा कार्तिक (१६) र देव (१३) का रूपमा भएको छ। अमीनले आफ्नो बुबाको मृत्यु पश्चात् आश्रित कोटामा सरकारी जागिर पाएका थिए र उनी नकुड़ तहसीलमा अमीनको पदमा कार्यरत थिए। छोरा देव स्थानीय एमटीएस पब्लिक स्कूलमा कक्षा ९ मा अध्ययनरत थिए भने कार्तिक नकुड़को एक इन्टर कलेजमा कक्षा १० मा पढ्दै थिए। छिमेकीहरूका अनुसार, परिवार शान्त स्वभावको थियो र कसैसँग कुनै विवाद थिएन।
वरिष्ठ पुलिस अधीक्षक आशीष तिवारीका अनुसार, पाँचै जनाको शव एउटै कोठामा फेला परेको छ र कोठाभित्र तीनवटा पेस्तोल पनि भेटिएका छन्। प्रारम्भिक रूपमा पुलिसलाई शंका छ कि अमीनले पहिले आफ्नी आमा, पत्नी र दुवै छोरालाई गोली हानेपछि आफूले पनि आत्महत्या गरेका हुन सक्छन्।
पुलिसले परिवारमाथि कुनै कर्जा, रोजगारीसँग सम्बन्धित तनाव, घरेलु विवाद वा मानसिक दबाउ त थिएन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ। साथै परिवारमा झगडा भएको अवस्थामा आवेगमा गोली चलेको सम्भावनालाई पनि ध्यानमा राखेर जाँच भइरहेको छ।
यसका साथै कुनै बाहिरी व्यक्तिले घरमा प्रवेश गरी सबैको हत्या गरेको सम्भावना छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ। परिवारको कसैसँग लेनदेन, दुश्मनी वा विवाद थियो कि थिएन भन्नेबारे जानकारी संकलन गरिँदैछ। वरपर जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज जाँच गरिँदैछन् र छिमेकीहरूसँग सोधपुछ भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी