
कोलकाता, 03 जनवरी (हि.स.)। गंगासागर मेलामा यस पटक ह्याम रेडियोमार्फत नयाँ डिजिटल प्रविधिको प्रयोग शुरु गरिएको छ, जसले देशभित्र मात्र नभई विश्वभर सुरक्षित र छिटो सञ्चार सम्भव बनाउनेछ। यस नयाँ व्यवस्थाको मुख्य उद्देश्य सन्देशलाई सुरक्षित राख्नु र तीर्थयात्रीहरूको सुरक्षा अझ सुदृढ गर्नु हो। ह्याम रेडियोको माध्यमबाट अब देशको कुनै पनि भागमा केही क्षणमै सुरक्षित सन्देश पठाउन सकिनेछ।
अहिलेसम्म वेस्ट बंगाल रेडियो क्लबका ह्याम रेडियो अपरेटरहरूले जिल्ला प्रशासनको अनुरोधमा गंगासागर मेलामा एनालग रेडियोमार्फत सेवा दिँदै आएका थिए। मेलाका क्रममा हराएका व्यक्तिहरूको जानकारी पुर्याउनेदेखि लिएर गम्भीर बिरामी तीर्थयात्रीहरूलाई एयर एम्बुलेन्समार्फत कोलकाताका विभिन्न सुपर स्पेशलिटी अस्पतालहरूमा पठाउने कार्यसम्म ह्याम रेडियोले महत्वपूर्ण भूमिका खेलेको छ। धेरैपटक बिरामीका आफन्तको ठेगाना नहुँदा पनि ह्याम रेडियोमार्फत देशका विभिन्न भागमा सूचना पुर्याइएको छ। नयाँ डिजिटल प्रविधि आएपछि यी कामहरू अझ छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
जानकारीअनुसार, अब सन्देशहरू सिधै देशभरका ह्याम रेडियो अपरेटरहरूसम्म तुरुन्तै पुग्नेछन्, जसले परिणाम पनि छिटो प्राप्त हुनेछ। विगत ३६ वर्षदेखि ह्याम रेडियो अपरेटरहरूले अस्थायी कन्ट्रोल रुममार्फत देशभर सन्देश आदान–प्रदान गर्दै आएका छन्। यस पटक मेलाको भौगोलिक विस्तार र भीड बढ्ने सम्भावनाका कारण कन्ट्रोल रुममा थप दबाब पर्ने अनुमान गरिएको छ। साथै, यस वर्ष कुम्भ मेला नहुँदा देशका विभिन्न भागबाट ठूलो संख्यामा तीर्थयात्रीहरू गंगासागर आउने सम्भावना पनि व्यक्त गरिएको छ।
गंगासागर मेलालाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने दिशामा पनि यो प्रविधि महत्वपूर्ण मानिएको छ। रेडियो सोसाइटी अफ ग्रेट ब्रिटेनले गंगासागर द्वीपलाई एएस-153 का रूपमा मान्यता दिएको छ। यसले विश्व नक्सामा गंगासागर द्वीपको भौगोलिक पहिचानलाई विशेष महत्त्व दिएको छ। यसको प्रभावस्वरूप वर्षभर विदेशबाट ठूलो संख्यामा पर्यटकहरू सागर आउने गरेका छन्, जसले स्थानीय बासिन्दाको आर्थिक विकासको सम्भावना पनि बढाएको छ। मेलाका क्रममा विदेशी पर्यटकहरूले निरन्तर जानकारी चाहने भएकाले रेडियोमार्फत उनीहरूलाई लाइभ अपडेट उपलब्ध गराउन सकिनेछ। आपत्कालीन अवस्थामा पनि यो सञ्चार प्रणाली अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।
यस नयाँ व्यवस्थामा डीएमआर (डिजिटल मोबाइल रेडियो) प्रविधिको प्रयोग गरिएको छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको सन्देश पूर्ण रूपमा गोप्य रहनु हो। आवश्यक र संवेदनशील जानकारी केवल सम्बन्धित व्यक्तिहरूले मात्र सुन्न सक्नेछन्, बाहिरी व्यक्तिले त्यो सन्देश सुन्न सक्ने छैनन्। भीड र कोलाहलकाबीच माइक्रोफोनबाट सवारी साधन नम्बर वा अन्य महत्वपूर्ण जानकारी नसुनिने समस्या पनि समाप्त हुनेछ, किनकि रेडियोमार्फत सिधै सन्देश र एसएमएस पठाउन सकिनेछ। यसरी गंगासागर मेला अब पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गर्दैछ।
वेस्ट बंगाल रेडियो क्लबका सम्पादक अम्बरिश नाग विश्वासले बताएअनुसार यो प्रविधिले गंगासागर मेलाको सुरक्षा र सञ्चार व्यवस्थालाई नयाँ दिशा दिनेछ। यस पहललाई सफल बनाउन जयन्ता बैद्य, हीरक सिन्हा, दिबोस मण्डल, सौमिक घोष र रिंकू नाग विश्वासको पनि महत्वपूर्ण योगदान रहेको छ। आयोजकहरूका अनुसार, ह्याम रेडियोको यस डिजिटल प्रयोगले गंगासागर मेला अझ सुरक्षित मात्र नभई विश्वसामु आधुनिक र प्रविधिमैत्री आयोजनाको रूपमा स्थापित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी