
प्रयागराज, 03 जनवरी (हि.स.)। विश्वप्रसिद्ध प्रयागराज माघ मेलामा पौष पूर्णिमाको पवित्र स्नान शुभ मुहूर्तमा शनिबार बिहानैदेखि ‘हर–हर गंगे’ को जयघोषसँगै शुरु भएको छ। श्रद्धालुहरूले पतित पावनी माता गंगा, यमुना तथा अन्तःसलीला सरस्वतीको पवित्र संगममा डुब्की लगाएर पुण्य आर्जन गरिरहेका छन्। यस शुभ स्नानसँगै एक महिनासम्म चल्ने कल्पवासको पनि विधिवत् शुभारम्भ भएको छ। ठूलो संख्यामा श्रद्धालुहरू भेला भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ।
पौष पूर्णिमाको स्नानका लागि देशका विभिन्न भागबाट लाखौँ श्रद्धालु प्रयागराज पुगेका छन्। बिहान हुनासाथ संगम तट ‘हर–हर गंगे’ का जयकाराले गुञ्जायमान भएको थियो। कठ्याङ्ग्रीने जाडोबीच पनि श्रद्धालुहरूको उत्साहमा कुनै कमी देखिएन। कल्पवासीहरूले पनि मेलास्थलका शिविरहरूमा बसोबास शुरु गरिसकेका छन्।
माघ मेला प्रभारी ऋषिराज तथा पुलिस अधीक्षक नीरज पाण्डेयका अनुसार, श्रद्धालुहरूले पवित्र मुहूर्तमा माता गंगा, यमुना र अन्तःसलीला सरस्वतीको संगममा ‘हर–हर गंगे’ को जयघोष गर्दै आस्थाको डुब्की लगाइ पुण्य आर्जन गरिरहेका छन्।
सबै घाटहरूमा श्रद्धालुहरू स्नान गरिरहेका छन् र स्नानार्थीहरूको ठूलो भीड देखिएको छ। सुरक्षा दृष्टिले मेलाक्षेत्रमा व्यापक र बहुस्तरीय व्यवस्था गरिएको छ। पुलिस, केन्द्रिय बल, जल सुरक्षा, अग्निशमन, आपदा प्रबन्धन तथा प्राविधिक एकाइहरूको ठूलो संख्यामा तैनाती गरिएको छ।
मेलाक्षेत्रमा ७ अतिरिक्त पुलिस अधीक्षक र १४ पुलिस उपाधीक्षक माघ मेला पुलिस अधीक्षकको मातहतमा कार्यरत छन्। नागरिक पुलिसतर्फ २९ निरीक्षक, २२१ पुरुष उपनिरीक्षक, १५ महिला उपनिरीक्षक, १,५९३ पुरुष मुख्य आरक्षी तथा आरक्षी र १३६ महिला मुख्य आरक्षी तथा आरक्षी तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी