
गान्तोक, 03 जनवरी (हि.स.)। पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दरामदिन निर्वाचन क्षेत्रमा राज्यस्तरीय 20औं सब-जुनियर (केटा-केटी) र 21औं युवा (महिला-पुरुष) बक्सिङ च्याम्पियनशिप 2026 आयोजना हुने भएको छ। उक्त प्रतियोगिता आगामी 16 देखि 19 जनवरीसम्म दरामदिन निर्वाचन क्षेत्रको रुम्बुकमा हुनेछ। यस प्रतियोगिताको आयोजना सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुकले सोरेङ जिल्ला बक्सिङ एसोसिएशनले सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको संयुक्त तत्वावधानमा गरिरहेको छ।
सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुकका उपाध्यक्ष मिजोराम लिम्बूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दरामदिन निर्वाचन क्षेत्रमा पहिलो पटक राज्यस्तरीय बक्सिङ प्रतियोगिता आयोजना भइरहेको जानकारी गराए। आगामी 16 देखि 19 जनवरीसम्म आयोजना हुने यस प्रतियोगिताको निम्ति क्षेत्र विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पाबाट भरपूर सहयोग प्राप्त भएको उनले बताए। यसैगरी, ओएसडी एमके राई लगायत क्षेत्रका अध्यक्षगण र समर्थकहरूको पनि उत्साहवर्धक समर्थन रहेको उनले बताए।
उपाध्यक्ष लिम्बूले मुख्यमन्त्री प्रेमसिंह तामाङबाट पनि निरन्तर समर्थन प्राप्त भइरहेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे। वर्तमानमा युवा पुस्ताहरू नशालु पदार्थको कुलतमा फस्नुका साथै र मानसिक स्वास्थ्य सम्बन्धित समस्याहरूसॅंग लडिरहेका छन् भन्दै उनले युवाहरूलाई खेलकुदतिर आकर्षित गरेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको बताए। उनले सबै खेलकुद प्रेमीहरूलाई उक्त दिन सहभागी भइदिन हार्दिक निमन्त्रणा पनि गरे।
संस्थाका सीईओ एवं पूर्व नेशनल बक्सर योजल सुब्बाले संस्थाको इतिहासमाथि प्रकाश पार्दै सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुक 2008 सालदेखि रुम्बुकमा शुरू भएको जानकारी गराए। यस संस्थाले अहिलेसम्म 60 भन्दा धेरै खेलाड़ीहरू तयार गरिसकेको र यस मध्ये 22 जना राष्ट्रिय स्तरका खेलाड़ीहरू पनि सामेल रहेको अवगत गराए। संस्था अन्तर्गत अहिले क्षेत्रका तीनवटा ठाउॅंमा शाखाहरू सञ्चालित रहेको र यहॉं लगभग 45 जना खेलाड़ी प्रशिक्षणरत रहेको पनि उनले बताए। संस्थाले आफ्नो बलबुतामा विन्टर क्याम्पहरू पनि आयोजना गर्दै आइरहेको उनले थप जानकारी गराए।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अजय सुब्बा र कार्यकारी सदस्य पीएच सुब्बा पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल