
पाकिम, 03 जनवरी (हि.स.)। आर्थिक वर्ष २०२६–२७ का लागि छलामथाङ, पाचेखानी ग्राम पञ्चायत एकाईको ग्राम पञ्चायत विकास योजना (जीपीडीपी) सम्बन्धी वार्षिक ग्राम सभा आज पाचेखानीस्थित ग्राम प्रशासनिक केन्द्रमा सम्पन्न भयो। ग्राम सभाको अध्यक्षता पञ्चायत अध्यक्ष रञ्जू पौड्यालले गरेकी थिइन्।
बैठकमा जिल्ला उपाध्यक्ष प्रभा प्रधान, मुख्यमन्त्रीका (सीए) उर्गेन लेप्चा, पञ्चायत सदस्यहरू, पाकिम जिल्लाका मुख्य चिकित्सक अधिकारी, पाकिमका खण्ड विकास अधिकारी तथा विभिन्न लाइन विभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको जानकारी डीआईओ पाकिमले दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्षले ग्राम सभामा उपस्थित सबै सहभागीहरूलाई धन्यवाद दिॅंदै यस बैठकमा फलदायी र अर्थपूर्ण छलफल भएको बताइन्। उनले बैठकमा समुदायका सदस्यहरूको सक्रिय सहभागिता र सम्बन्धित लाइन विभागहरूको समन्वित प्रयासको प्रशंसा गरिन्।
उनले गाउँ सुन्दरीकरणको महत्त्वबारे प्रकाश पार्दै ग्राम सभामा उठाइएका विषयहरूले गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले सबै सरोकारवालाहरूलाई विकासमुखी सोच अपनाई गाउँको समग्र विकासका लागि सामूहिक रूपमा अघि बढ्न आग्रह गरिन्।
बैठकमा नयाँ बस्ती, डिक्लिङ, पाचेखानी, रोडाथाङ, छलामथाङ, लोसिङ तथा डिक्लिङ पाचेखानी वार्डका पञ्चायतहरूले आ–आफ्ना वार्डका मागहरू, प्रस्तावित विकास कार्यहरू तथा हाल सञ्चालनमा रहेका योजनाहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए।
यसैगरी मुख्यमन्त्रीका सीए उर्गेन लेप्चाले ग्राम सभामा उठाइएका मागहरू मुख्यमन्त्रीसमक्ष प्रस्तुत गरिने जानकारी दिए। उनले इच्छुक समुदायका सदस्यहरूद्वारा सरकार तथा सम्बन्धित लाइन विभागहरूसँग समन्वय गर्दै सडक किनार सुन्दरीकरणसम्बन्धी पहलहरू अघि बढाउन सकिने पनि बताए। उनले ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ निर्माणका लागि एकता र सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गर्दै सरकार सबै वर्गको कल्याणका लागि निरन्तर कार्यरत रहेको बताए।
पञ्चायती राज संस्थाका सहायक निर्देशक डीपी शर्माले ग्राम पञ्चायत विकास योजना (जीपीडीपी) तथा पाँचौँ राज्य वित्त आयोग (एसएफसी) सम्बन्धी जानकारी प्रदान गरे। उनले यस (जीपीयू) मा प्लास्टिकजन्य फोहोरको प्रयोग नगर्न र क्षेत्रको स्वच्छता कायम राख्नु अत्यावश्यक रहेको कुरामाथि जोड दिए। उनले ग्रामीणस्तरमा जल व्यवस्थापन, सरसफाई तथा स्वच्छता सुनिश्चित गर्न (भीडब्ल्युएससी) को भूमिकाबारे पनि प्रकाश पारे।
ग्राम सभाका क्रममा विभिन्न महत्वपूर्ण विषयहरू तथा विकाससम्बन्धी मुद्दाहरूमा छलफल गरियो। बैठकको मुख्य आकर्षण खुला छलफल सत्र रहेको थियो, जसमा गाउँलेहरूले आफ्ना समस्याहरू विभागीय अधिकारी समक्ष राखेका थिए भने सम्बन्धित विभागका अधिकारीहरूले पनि समस्या समाधानका लागि मार्गदर्शन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल