
सोानादा, 03 जनवरी (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीका प्रचार–प्रसार सचिव भुपेन गुरुङले केही दिनअघि खोलिएको नयाँ राजनीतिक दल “गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (सुवासवादी)” प्रति आफ्नो तीव्र प्रतिक्रिया जनाएका छन्।
उनले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त दलको गठनप्रति तीव्र विरोध जनाउँदै प्रश्न गरे, “2007 सालमा पार्टीमाथि बज्रपात पर्दा पार्टी छोडेर जानेहरू र 2011 सालमा आफ्नो स्वार्थ बचाउन टीएमसीको झण्डा समात्नेहरू कसरी सुवासवादी हुन सक्छन् ?” उनले भने, “हामी 1986 मा पनि थियौं, 2007 मा पनि थियौं र आज पनि निरन्तर जाति र माटोको उन्मुक्तिका लागि संघर्षरत छौं। पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउन निरन्तर लागिरहेका छौं। हामी नै खाँटी सुवासवादी हौं। पार्टीलाई गाह्रो पर्दा छाडेर जानेहरू कसरी सुवासवादी भए ?”
भुपेन गुरुङले थप प्रश्न गर्दै भने, “जुन बेला पार्टी सत्तामा थियो, त्यतिबेला तिमीहरू कुर्सीमा थियौं। त्यो समय पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङले जे भने पनि राज्य सरकार र केन्द्र सरकारले सुन्थ्यो र मान्थ्यो। अहिलेको राजनीतिक परिस्थिति त्यस्तो छैन। तर पनि अध्यक्ष मन घिसिङको कुशल राजनीतिक नेतृत्व र दूरदर्शिताका कारण भारत सरकारले गोर्खाहरूको समस्या सुनेको छ र वार्ता बसेको छ। भविष्यमा वार्ता बस्छ भने त्यो गोरामुमो र अध्यक्ष मन घिसिङसँग नै बस्छ।'
2007 सालमा छैटौं अनुसूचीको विरोध गर्नेहरू आज दलमा सामेल भएकाहरू कसरी सुवासवादी भए ? भनी उनले गम्भीर प्रश्न उठाएका छन्। उनले नयाँ दललाई लक्षित गर्दै भने ,“तपाईहरूले खोलेको दल पनि अहिलेसम्म निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसैले पहिले आफ्नो दल दर्ता गर्नुहोस्।” गुरुङले स्पष्ट पारे, “गोरामुमो डिलिस्टिङ भएको छैन। चुनाउ नलडेका कारण निर्वाचन आयोगले केवल नोटिस मात्र पठाएको हो। यस विषयमा पनि पार्टी अध्यक्ष मन घिसिङले दिल्लीमा निर्वाचन आयोगसमक्ष आवश्यक प्रक्रिया अघि बढाइसक्नु भएको छ।”
उनले गोरामुमोप्रति जनताको विश्वास अझै मजबुत रहेको उल्लेख गर्दै सुवास घिसिङको विचार, सिद्धान्त र संघर्षको विरासत बोकेको एकमात्र राजनीतिक शक्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नै हो भन्ने कुरा पुनः स्पष्ट पारेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक