
गान्तोक, 03 जनवरी (हि.स.)। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमको नयॉं कार्यकारिणी समिति गठनका लागि आगामी 22 फरवरी, 2026 मा चुनाउ हुने भएको छ। यस सम्बन्धमा चुनाउ प्रक्रिया आगामी 22 जनवरीदेखि शुरू भएर 28 फरवरी, 2026 मा समापन हुनेछ। उक्त जानकारी नेसापको 14औं कार्यकारिणी समितिको चुनाउहेतु गठन भएको चुनाउ आयोग समितिले दिएको छ।
चुनाउ आयोग समितिका आयुक्त विष्णु न्यौपानेले आज प्रेस विज्ञप्तिमा बताएअनुसार, नेसाप सिक्किमको चौधौँ कार्यकारिणी समितिको चुनाउहेतु गठन भएको चुनाउ आयोगको एक बैठक ३ जनवरी, २०२६ का दिन आयोगका प्रमुख आयुक्त डा. पारसमणि दङ्गालको अध्यक्षतामा परिषद् भवनमा सम्पन्न भयो। सभामा आयोगका आयुक्तद्वय बिमल काफ्ले अनि विष्णु न्यौपानेको उपस्थिति थियो।
परिषद्को कार्यकारिणी समितिको चुनाउ सम्बन्धी सभाले लामो छलफल गरेपछि चौधौँ कार्यकारिणी समितिको चुनाउ २२ फरवरी, २०२६ आइतवारका दिन विकास क्षेत्रस्थित परिषद् भवनमा सम्पन्न गर्ने निर्णय आयोगले लिएको छ। चुनाउ प्रक्रिया आगामी २२ जनवरीदेखि शुरु भएर २८ फरवरी, २०२६ का दिन पूरा हुनेछ। ३१ दिसम्बर, २०२५ सम्ममा परिषद्को सदस्यता ग्रहण गरिसकेका सदस्यहरूले मात्र चुनाउ प्रक्रियामा भाग लिन पाउने आयोगले निर्णय गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल