भारत, इजरायल, अमेरिका र आरएसएसले क्याप्टेन स्मितको बहादुरीलाई सलाम गरे, शीघ्र स्वास्थ्यलाभको कामना
कैप्टन स्मित मछार। फोटो - इंटरनेट मीडिया


नयाँ दिल्ली, 0१ अक्टोबर (हि.स.)। भारत, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), इजरायल र अमेरिकाले क्याप्टेन स्मित मछारको असाधारण बहादुरीको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सबैले ‘एक्स’ ह्यान्डलमा पोस्ट गर्दै मछारलाई नायक बताएका छन्। क्याप्टेन मछार गत दिन दुबईबाट इजरायलको तेल अवीवतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा भएको घटनापछि चर्चाको केन्द्रमा छन्। उक्त घटनामा क्याप्टेन स्मित मछार नायकका रूपमा अगाडि आएका छन्।

विदेशमन्त्री एस. जयशंकरले लेखेका छन्, “क्याप्टेन स्मित मछारको असाधारण साहस र कठिन परिस्थितिमा पनि सुझबुझ देखाउने क्षमताले हिजो सयौं मानिसको ज्यान बचाउनुका साथै ठूलो त्रासदी हुनबाट जोगाएको छ। उनको बहादुरीलाई सलाम गर्न र शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्न विश्वभरका अनगिन्ती मानिससँग जोडिनुहोस्।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेखेका छन्, “भारतीय पाइलट क्याप्टेन स्मित मछारको असाधारण बहादुरीलाई मेरो सलाम। चक्कु प्रहारबाट गम्भीर घाइते भए पनि उनले प्रतिरोध गरे। आक्रमणकारीको सामना गरे, ककपिटको ढोका खोले र यात्रु तथा चालक दलका सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरे। यसबाट हावामै हुन सक्ने ठूलो दुर्घटना टरेको छ। उनले इजरायली नागरिकसहित विभिन्न देशका १७४ जनाको ज्यान बचाए। म क्याप्टेनको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। उनी सच्चा नायक हुन्। हामी आतंकवादविरुद्ध एकजुट छौं।”

भारतका लागि इजरायली राजदूत रूवेन अजारले लेखेका छन्, “म फ्लाईदुबईको उडान एफजेड१०७३ का अनुभवी तथा प्रतिभाशाली भारतीय पाइलट क्याप्टेन स्मितको सुरक्षाका लागि प्रार्थना गर्दछु। उनको तथा अन्य इजरायली र अमिराती यात्रु एवं चालक दलका सदस्यहरूको साहसले १८० जनाको ज्यान बचाएको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुबईबाट तेल अवीवतर्फ जाँदै गरेको फ्लाईदुबईको उडानका भारतीय क्याप्टेन स्मित मछारको बहादुरीको प्रशंसा गरेका छन्। ट्रम्पले भारतीय पाइलटको अवस्था अत्यन्त गम्भीर भए पनि उनले विमानलाई दुर्घटनाग्रस्त हुनबाट जोगाउन सहयोग गरेको बताएका छन्। ट्रम्पले क्याप्टेनलाई नायक बताएका छन्। ट्रम्पले बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै आफूले यस घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबाट जानकारी पाएको बताए।

राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय प्रचार प्रमुख सुनील आंबेकरले पनि क्याप्टेन स्मित मछारको प्रशंसा गर्दै उनको असाधारण साहसलाई सलाम गरेका छन्। आरएसएसको आधिकारिक ‘एक्स’ खातामा आंबेकरले लेखेका छन्, “उनले आफ्नो कर्तव्यभन्दा अघि बढेर १७० भन्दा बढी मानिसको ज्यान बचाउन सहयोग गरे। उनी सच्चा नायक हुन् र पूरा देशले उनको बहादुरी तथा समयमै गरिएको कारबाहीप्रति गर्व गरेको छ। उनको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande