विक्रमशिला पुलमा महाअपरेशन: बेली ब्रिज हटाइँदै, स्थायी ट्रस ब्रिजबाट आवागमन सहज हुन सिक्किमबाट आयो बीआरओ टोली
बेली ब्रिज हटाते बीआरओ की टीम


भागलपुर, 0१ अक्टोबर (हि.स.)। बिहारको भागलपुर जिल्लामा गंगा नदीमाथि निर्मित विक्रमशिला पुलका क्षतिग्रस्त चारवटै स्पानबाट अस्थायी बेली ब्रिज हटाउने काम युद्धस्तरमा शुरु भएको छ। यो काम सम्पन्न गर्न देशकै भरपर्दो निर्माण संस्था सीमा सडक संगठन (बीआरओ) को विशेषज्ञ टोलीलाई सिक्किमबाट बोलाइएको छ।

ठूला तथा आधुनिक क्रेनको सहयोगमा बेली ब्रिजका भारी फलामे गर्डरहरूलाई एक-एक गर्दै सुरक्षित रूपमा काटेर हटाउने काम भइरहेको छ। पुललाई पूर्ण रूपमा सुरक्षित र स्थायी बनाउन यसपटक अस्थायी संरचनाको सट्टा अत्यन्त मजबुत ट्रस ब्रिज निर्माण गरिनेछ।

पहिलो चरणमा क्रेन र हाइड्रो मेसिनको सहयोगमा चारवटै स्पानमा बिछ्याइएका पुराना बेली ब्रिज खोल्ने काम भइरहेको छ। यसमा करिब ३ देखि ५ दिन लाग्ने अनुमान गरिएको छ। दोस्रो चरणमा बेली ब्रिज हटाइएपछि स्पानमा स्टिलबाट निर्मित मजबुत ट्रस संरचना अर्थात् फलामको जालीदार ढाँचा जडान गरिनेछ। ट्रस ब्रिजले भारी सवारीसाधनको भार थेग्न सक्ने र लामो समयसम्म टिक्ने बताइएको छ।

जिल्ला प्रशासन र निर्माण शाखाका अनुसार, बेली ब्रिज हटाउनेदेखि नयाँ ट्रस ब्रिज पूर्ण रूपमा जडान गरी सडक सञ्चालनमा ल्याउने सम्पूर्ण प्रक्रियामा १५ देखि २० दिन लाग्न सक्छ। यस अभियानबाट सबैभन्दा ठूलो फाइदा जल यातायातलाई हुने भएको छ। बेली ब्रिजको तल्लो भागका कारण गंगा नदीमा ठूला मालवाहक तथा पर्यटकीय जहाजको आवागमनमा बाधा भइरहेको थियो।

पुलका स्पान खाली भएपछि आजदेखि गंगा नदीमा ठूला जहाजबाट यात्रु आवागमन तथा माल ढुवानी शुरु भएको छ। यसले राष्ट्रिय जलमार्ग-१ मार्फत उत्तर-पूर्वी भारत र कोलकाताबीचको व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कामका क्रममा सुरक्षाका कारण विक्रमशिला पुलमा भारी सवारीसाधन तथा केही चरणमा हल्का सवारीसाधनको आवागमन पनि पूर्ण रूपमा बन्द वा नियन्त्रित रहने भएकाले प्रशासनले सर्वसाधारणको सुविधाका लागि वैकल्पिक मार्ग र मार्ग परिवर्तनको व्यवस्था गरेको छ।

स्थानीय प्रशासनले अवस्थाअनुसार दिनका केही निश्चित समयमा एक लेनबाट हल्का सवारीसाधन सञ्चालन गर्ने योजना बनाएको छ। यद्यपि, जामबाट बच्न सर्वसाधारणलाई डुंगा सेवा प्रयोग गर्न आग्रह गरिएको छ। नवगछियाबाट भागलपुर, बाँका तथा मुंगेरतर्फ जाने सवारीसाधनलाई खगडियाको बाटो हुँदै अगुवानी घाट वा मुंगेर रेल-सह-सडक पुल (श्रीकृष्ण सेतु) तर्फ मोडिएको छ।

पूर्णिया तथा कटिहारबाट आउने सवारीसाधनलाई कुर्सेलाबाटै नारायणपुर हुँदै मुंगेर पुलतर्फ पठाइँदैछ। शहरी यात्रुका लागि सबौर र बरारी घाटलगायतका घाटहरूबीच जिल्ला प्रशासनले अतिरिक्त डुंगा सञ्चालन गरिरहेको छ, ताकि सर्वसाधारणलाई गंगा पार गर्न कठिनाइ नहोस्।

प्रशासनले यात्रुहरूलाई विक्रमशिला पुलमा काम भइरहँदासम्म धैर्य राख्न र अत्यावश्यक काम नभए पुलतर्फ नजान आग्रह गरेको छ। साथै, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande