
काठमाडौँ, 0१ अक्टोबर (हि.स.)। नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपालमा हालका लागि तिनको बिक्री मूल्य यथावत राखिएको जनाएको छ। निगमका अनुसार, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढी र पैह्रोबाट सिर्जित परिस्थितिहरू, आगामी चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगरिएको हो।
निगमले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार, गए राति इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलको २० रुपियाँ २१ पैसा, मट्टितेलको १५ रुपियाँ ९६ पैसा तथा हवाई इन्धनको १८ रुपियाँ ६६ पैसा प्रतिलिटरले वृद्धि भएर आएको छ।
त्यसैगरी, खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिग्यास सिलिन्डर ८१ रुपियाँ ३२ पैसा बढेर आएको छ। तर, यसका बावजुद नेपालमा एलपीजी ग्यासको हालको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जनाएको छ।
निगमका अनुसार, भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य कायम राख्दा प्रत्येक पन्ध्र दिनमा करिब ३ अरब २० करोड ३८ लाख रुपियाँ घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना हुनेछ।
निगमले भोटेकोशी बाढी तथा पैह्रोबाट उत्पन्न असाधारण परिस्थिति, नजिकिँदै गरेका चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाल पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरिएको स्पष्ट पारेको छ।
हिन्दुस्थान समाचार / बिशाल