
हरारे (जिम्बाब्वे), 0१ अक्टोबर (हि.स.)। जिम्बाब्वेको मरोन्डेरामा बुधबार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो। हेलिकप्टरमा चार यात्रु र दुई जना चालक दलका सदस्य सवार थिए। दुर्घटनामा सबै छ जनाको मृत्यु भएको छ। मृतकमा ४३ वर्षीय उद्योगपति विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन्। चिवायोलाई राष्ट्रपति एमर्सन मनांगाग्वाका निकट व्यक्तिका रूपमा मानिन्थ्यो।
जिम्बाब्वेको अखबार ‘न्युज डे’ को रिपोर्टअनुसार, राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। पुलिसले बुधबार साँझ करिब ५ बजी दुर्घटनाबारे जानकारी पाएको थियो। दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन।
विकनेल चिवायो इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए। उक्त कम्पनीले ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित परियोजनामा काम गर्दै आएको थियो। चिवायो ग्वान्डा सौर्य परियोजनालगायत सरकारी ठेक्काका कारण पनि चर्चामा आएका थिए।
उनी आफ्नो विलासी जीवनशैली तथा सामाजिक सञ्जालमा गरिने पोस्टका कारण पनि चर्चित थिए। चिवायोले महँगा कार तथा विलासी हेलिकप्टरसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए। उनी दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसन तथा इस्वातिनीका राजा मस्वाती तृतीयलगायत धेरै उच्चपदस्थ नेताका निकट रहेको बताइन्थ्यो।
चिवायोमाथि जिम्बाब्वे तथा छेउछाउका देशमा सरकारी ठेक्का र निर्वाचनमा आर्थिक सहयोगसँग सम्बन्धित आरोपसमेत लागेका थिए। उनले भने ती आरोप अस्वीकार गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल