
नाम्ची, 12 अक्टोबर (हि.स.)। नाम्चीको बुमटारस्थित उपकारागारमा कैदीहरूको राशन कार्ड तथा केवाईसीको स्थिति जाँच गर्न आज विशेष शिविर आयोजना गरियो। नाम्चीकी जिल्लापालले जारी गरेको निर्देशनअनुसार शिविर आयोजना गरिएको बताइएको छ। यस पहलको उद्देश्य कैदीहरूलाई राशन कार्डलगायत आवश्यक पहिचान तथा जनकल्याणसम्बन्धी दस्तावेजको पहुँच सुनिश्चित गर्नुका साथै आवश्यक केवाईसी प्रक्रिया पूरा गर्नु रहेको थियो।
शिविरमा उपकारागारका अधीक्षक पासाङ छिरिङ लेप्चा र जेलर योगेश गुरुङ उपस्थित थिए। नाम्ची जिल्ला खाद्य तथा नागरिक आपूर्ति विभागको टोलीको नेतृत्व जिल्ला नागरिक आपूर्ति अधिकारी तेन्जिङ भोटियाले गरेका थिए।
शिविरको मुख्य उद्देश्य कैदीहरुसँग राशन कार्ड भए-नभएको बुझ्नु तथा उनीहरूको केवाईसी प्रक्रिया पूरा भए-नभएको जाँच गर्नु थियो।
यस क्रममा कारागार प्रशासनले ६५ जना कैदीसँग सम्बन्धित दस्तावेज जाँचका लागि उपलब्ध गराएको थियो। तीमध्ये ५३ जनासँग राशन कार्ड रहेको पाइएको छ। उनीहरूका परिवारले सम्बन्धित सरकारी गोदामबाट नियमित रूपमा राशन प्राप्त गरिरहेको र आपूर्तिमा कुनै अवरोध नरहेको पुष्टि भएको छ। साथै, यी सबै ५३ जनाको केवाईसी प्रक्रिया पनि पूरा भएको पाइएको छ।
बाँकी १२ जना कैदीको नाम विभिन्न कारणले राशन कार्डमा दर्ता नभएको पाइएको छ। उनीहरूको नाम दर्ता गर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित गोदामका प्रभारीहरूलाई जानकारी गराइने बताइएको छ। यसका लागि कारागार प्रशासनले आवश्यक केवाईसी प्रक्रिया पूरा गर्नुपर्नेछ।
यस पहलले कैदीहरूलाई अत्यावश्यक सार्वजनिक वितरण सेवाबाट वञ्चित हुन नदिन तथा आवश्यक दस्तावेज र केवाईसीसम्बन्धी प्रक्रिया पूरा गराउन प्रशासन प्रतिबद्ध रहेको दर्शाएको छ। साथै, यसबाट उच्च न्यायालयको निर्देशनअनुरूप आवश्यक कार्यान्वयन सुनिश्चित गर्ने प्रयास गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल