
नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। दिल्ली पुलिसले जन्तर-मन्तरलाई निर्धारित धर्ना–प्रदर्शनस्थलको सूचीबाट हटाएको छ। यसको सट्टा रामलीला मैदान, बुराड़ी मैदान र पूर्वी दिल्ली स्थित सीबीडी मैदानलाई नयाँ प्रदर्शनस्थलका रूपमा तय गरिएको छ। यस सम्बन्धमा पुलिस आयुक्त अनुराग कुमारले ११ अक्टोबरमा स्थायी आदेश जारी गरेका छन्।
आदेश अनुसार, केन्द्रिय गृह मन्त्रालयद्वारा गठित समितिको सिफारिसका आधारमा यो निर्णय लिइएको हो। नागरिकको विरोध प्रदर्शन गर्ने अधिकारलाई ध्यानमा राख्दै जन्तर-मन्तरको विकल्प खोज्ने जिम्मेवारी समितिलाई दिइएको थियो।
दिल्ली पुलिसले रामलीला मैदान, बुराड़ी मैदान र सीबीडी मैदानमा धरना–प्रदर्शन आयोजना गर्न विस्तृत मानक सञ्चालन प्रक्रिया (एसओपी) छुट्टै जारी गरिने जनाएको छ। यसमा प्रदर्शनको अनुमति लिने प्रक्रिया, आयोजना गर्दा पालना गर्नुपर्ने सर्त तथा अन्य आवश्यक व्यवस्था सम्बन्धी निर्देशिका समावेश गरिनेछ।
यो आदेश २८ अप्रेल २०२२ मा जारी गरिएको स्थायी आदेशमा आंशिक संशोधन गर्दै जारी गरिएको हो। आदेशको प्रतिलिपि दिल्ली पुलिसका वरिष्ठ अधिकारीहरू तथा सबै जिल्ला पुलिस एकाइहरूलाई पठाइएको छ।
जन्तर-मन्तर लामो समयदेखि विभिन्न राजनीतिक दल, सामाजिक सङ्गठन र अन्य समूहका धरना–प्रदर्शनको प्रमुख स्थल रहँदै आएको छ। यहाँ प्रदर्शन आयोजना गर्नुअघि पुलिसबाट अनुमति लिनु र निर्धारित सर्तहरू पालना गर्नु अनिवार्य थियो। नयाँ आदेश जारी भएपछि प्रदर्शनकारीहरूले तोकिएका वैकल्पिक स्थलमा लागू नियमानुसार अनुमति लिनुपर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी