
नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। भारत विश्वको अग्रणी शक्ति बन्न चाहन्छ, ताकि कुनै पनि देशले उसमाथि अनुचित सर्तहरू थोप्न नसकोस्। उक्त कुरा उपराष्ट्रपति सी.पी. राधाकृष्णनले भनेका हुन्। उनले सबै देशको सार्वभौमिकताको सम्मान गर्नुपर्ने र कुनै पनि देशको सीमामा अतिक्रमण गर्न नहुने आवश्यकतामा जोड दिएका छन्।
राष्ट्रिय रक्षा महाविद्यालयको ६६औँ पाठ्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति राधाकृष्णनले राष्ट्रिय रणनीति देशका उद्देश्यहरूलाई ठोस कार्य र परिणाममा रूपान्तरण गर्नसक्ने हुनुपर्ने बताए। राष्ट्रिय मूल्य, हित र उद्देश्यबीच समन्वय देशको सुरक्षा तथा विकासका लागि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।
उपराष्ट्रपतिले भारतका राष्ट्रिय हितहरू संवैधानिक मूल्यहरू—सार्वभौमिकता, लोकतन्त्र, धर्मनिरपेक्षता, न्याय, स्वतन्त्रता, समानता, बन्धुत्व तथा राष्ट्रको एकता र अखण्डतासँग जोडिएको बताए। सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा, लोकतान्त्रिक तथा सङ्घीय व्यवस्था कायम राख्ने र देशका रणनीतिक, राजनीतिक, आर्थिक तथा सैन्य उद्देश्यहरूलाई अघि बढ़ाउने कार्यलाई उनले प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरे।
भारतको सभ्यतागत अवधारणा ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एउटै परिवार हो भन्ने मान्यताको उल्लेख गर्दै राधाकृष्णनले राष्ट्रिय मूल्यहरूले विश्वसँग भारतको सम्बन्धलाई दिशा प्रदान गर्ने बताए। उनले कोभिड–१९ महामारीका बेला भारतले सञ्चालन गरेको ‘भ्याक्सिन मैत्री’ पहल, विपद्का समयमा प्रदान गरेको सहायता तथा जलवायु परिवर्तन विरुद्ध अन्तरराष्ट्रिय प्रयासमा भारतको भूमिकाबारे पनि चर्चा गरे।
आतङ्कवाद, साइबर खतरा, महामारी, जलवायु परिवर्तन र सीमापार अपराध जस्ता चुनौतीको सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताए। राष्ट्रिय हितको रक्षा गर्नु र साझा विश्वव्यापी हितलाई अघि बढ़ाउनु एकअर्काका पूरक हुनसक्ने उनको भनाइ थियो। यसका लागि देशहरूबीच समन्वय, सूचनाको आदान-प्रदान र आपसी विश्वास आवश्यक रहेको उनले उल्लेख गरे।
उपराष्ट्रपतिले ‘विकसित भारत–२०४७’ लाई देशको महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यका रूपमा प्रस्तुत गर्दै दीर्घकालीन दृष्टिकोणलाई उपलब्ध स्रोतसाधन र राष्ट्रिय प्राथमिकता अनुरूप बनाउनुपर्ने बताए। राष्ट्रिय सुरक्षामा देशका स्थल सीमा, हवाई क्षेत्र, समुद्री हित र साइबर क्षेत्रको रक्षा गर्नुका साथै दिगो विकास तथा समृद्धिका लागि अनुकूल परिस्थिति निर्माण गर्नु पनि समावेश रहेको उनले स्पष्ट पारे।
राधाकृष्णनले विश्वको दक्षिणी गोलार्धका विकासशील देशहरूसँग सहयोग विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ठूलो वा सानो जस्तोसुकै भए पनि प्रत्येक सार्वभौम राष्ट्र समान रहेको बताए। उनले प्रविधि, व्यापार, सम्पर्क सञ्जाल, शिक्षा, नवाचार र क्षमता विकासका क्षेत्रमा सहकार्य बढ़ाउन आह्वान गरे। साथै, विश्वको दक्षिणी गोलार्धका देशहरूसामु भ्रष्टाचार ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
राष्ट्रिय रक्षा महाविद्यालयको ६६औँ पाठ्यक्रममा भारतीय सशस्त्र बल, सिविल सेवाहरू, पुलिस था अन्य सरकारी सङ्गठनका अधिकारीहरू सहित मित्रराष्ट्रका ४१ अधिकारी सहभागी छन्। यस पाठ्यक्रममा कूल १२२ जना सहभागी रहेको बताइएको छ।
कार्यक्रममा राष्ट्रिय रक्षा महाविद्यालयका कमान्डेन्ट एयर मार्शल मनीष कुमार गुप्ता सहित अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी