
नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। कोच्चिको कोचीन शिपयार्ड लिमिटेड (सीएसएल) मा निर्मित तेस्रो पनडुब्बीविरोधी युद्धपोत ‘मंगरोल’ सोमवार औपचारिक रूपमा भारतीय नौसेनाको सामुद्रिक बेड़ामा सामेल भएको छ। मुम्बई स्थित नौसैनिक डकयार्डमा आयोजित समारोहमा सेवामा प्रवेश गराइएको यस युद्धपोतले भारतीय नौसेनाको पनडुब्बीविरोधी युद्ध क्षमता सुदृढ़ बनाउनेछ। विशेषगरी तटीय जलक्षेत्रमा ठूला युद्धपोतलाई सञ्चालन गर्न कठिनाइ हुने अवस्थामा यसको भूमिका महत्त्वपूर्ण हुनेछ। यसलाई सामेल गरिएसँगै बन्दरगाह, हार्बर र तटीय मार्गको सुरक्षा क्षमता बढ्नुका साथै ठूला नौसैनिक बेड़ाका अभियानमा पनि सहयोग पुग्नेछ।
मुम्बईको नौसैनिक डकयार्डमा आयोजित समारोहको अध्यक्षता पश्चिमी नौसैनिक कमान्डका कमान्डर-इन-चिफ वाइस एडमिरल सञ्जय वात्स्यायनले गरे। कार्यक्रममा वरिष्ठ नौसैनिक तथा रक्षा अधिकारी, रक्षा मन्त्रालय र कोचीन शिपयार्ड लिमिटेडका प्रतिनिधि तथा स्वदेशी हतियार र संवेदक उपकरण निर्माण गर्ने कम्पनीका प्रतिनिधिहरू सहभागी भए। गुजरातको जुनागढ़ जिल्लामा रहेको तटीय शहर तथा प्रमुख माछा मार्ने बन्दरगाह मंगरोलको नामबाट यस युद्धपोतको नामकरण गरिएको हो। यसले यसअघि भारतीय नौसेनामा सेवा गरेको आईएनएस मंगरोल (एम–८५) को विरासतलाई निरन्तरता दिएको छ। पुराना युद्धपोतको विरासत संरक्षण गर्ने नौसेनाको परम्परालाई यस नामकरणले कायम राखेको छ। उक्त पुरानो युद्धपोतले ७ अप्रेल २००४ सम्म भारतीय नौसेनामा सेवा गरेको थियो।
रक्षा मन्त्रालय अनुसार, ८० प्रतिशतभन्दा बढ़ी स्वदेशी सामग्रीबाट निर्मित मंगरोल युद्धपोतको डिजाइन, निर्माण तथा उन्नत हतियार र संवेदक उपकरणको एकीकरणमा भारतको बढ्दो क्षमताको प्रतीक हो। सरकारको ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ पहल अन्तर्गत निर्मित यो युद्धपोत रक्षा जहाज निर्माण क्षेत्रमा आत्मनिर्भरतातर्फको अर्को महत्त्वपूर्ण कदम हो। तटीय तथा कम गहिराइ भएको समुद्री क्षेत्रमा पानीमुनिका खतराको पहिचान र सामना गर्न तयार पारिएको मंगरोल आधुनिक हतियार तथा संवेदक उपकरणले सुसज्जित छ। यसमा ‘अभय’ हल-माउन्टेड सोनार, हल्का टारपेडो, स्वदेशी पनडुब्बीविरोधी रकेट प्रक्षेपक तथा ‘मारीच’ उन्नत टारपेडो छल प्रणाली समावेश छन्।
कोचीन शिपयार्ड लिमिटेड अनुसार, आईएनएस मंगरोलमा उन्नत सोनार, टारपेडो र पनडुब्बीविरोधी रकेट जड़ान गरिएको छ। यी उपकरणले तटीय जलक्षेत्रमा पनडुब्बीको खोजी गर्न सहयोग पुर्याउनेछन्। वाटर जेट प्रोपल्शन प्रणालीसँग जोड़िएका तीन वटा डिजेल इन्जिनबाट सञ्चालित यस युद्धपोतले कम गहिराइ भएको पानीमा सहज रूपमा दिशा परिवर्तन गरी सञ्चालन गर्न सक्छ। यसले पानीमुनि निगरानी, कम तीव्रताका सामुद्रिक अभियान तथा समुद्री सुरुङसम्बन्धी युद्धकार्य पनि गर्न सक्छ। पनडुब्बीबाट उत्पन्न हुने खतराको पहिचान र सामना गर्न यो युद्धपोतले सामुद्रिक गस्ती विमान, हेलिकप्टर तथा अन्य युद्धपोतसँग मिलेर काम गर्नसक्छ। बदलिँदो सामुद्रिक सुरक्षा परिस्थितिमा पानीमुनिका खतरा बढ़िरहेका बेला मंगरोललाई नौसेनामा सामेल गरिनु भारतको पनडुब्बीविरोधी युद्ध क्षमतालाई सुदृढ़ बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी