
गान्तोक, 12 अक्टोबर (हि.स.)। भारत सरकारको विज्ञान तथा प्रविधि विभाग र राष्ट्रिय नवप्रवर्तन प्रतिष्ठान- भारतको संयुक्त आयोजनामा १२ देखि १४ अक्टोबर, २०२६ सम्म नयाँ दिल्लीमा आयोजना भइरहेको ‘इन्स्पायर अवार्ड मानक’ योजनाअन्तर्गत १२औँ राष्ट्रियस्तरीय प्रदर्शनी तथा परियोजना प्रतियोगितामा सिक्किमका १० जना विद्यार्थी सहभागी भइरहेका छन्।
यस प्रदर्शनीले युवा नवप्रवर्तकहरूलाई आफ्ना नवीन विचार, सिर्जनशीलता र वैज्ञानिक प्रतिभा प्रस्तुत गर्न राष्ट्रियस्तरको मञ्च प्रदान गर्दछ। प्रतियोगितामा सिक्किमका विद्यार्थीहरूको सहभागिताले विद्यालयस्तरमै वैज्ञानिक सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने राज्यको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताइएको छ।
सिक्किम राज्य विज्ञान एवं प्रविधि परिषदका अनुसार, १२ देखि १४ अक्टोबरसम्म सञ्चालन हुने तीनदिने यस राष्ट्रियस्तरीय कार्यक्रममा सिक्किमका १० जना कनिष्ठ वैज्ञानिक तथा नवप्रवर्तकहरूले आफ्ना नवीन परियोजनाहरू प्रस्तुत गर्दै प्रतिष्ठित राष्ट्रिय मञ्चमा राज्यको प्रतिनिधित्व गरिरहेका छन्।
कार्यक्रमको समन्वय सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्का प्रधान निर्देशक तथा ‘इन्स्पायर’ राज्य नोडल अधिकारी डा. सुमन थापा र सहायक वैज्ञानिक अधिकारी तथा ‘इन्स्पायर’ राज्य समन्वयक नवीन शर्माले गरिरहेका छन्।
विद्यार्थीहरूसँगै शिक्षा विभागका दुई जना शिक्षक पनि सहभागी छन्। उनीहरूमा राष्ट्रिय पुरस्कार प्राप्त डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयकी रसायनशास्त्र शिक्षिका सुष्मा तामाङ र उत्तरे वरिष्ठ माध्यमिक विद्यालयका गणित शिक्षक हरिप्रसाद आचार्य रहेका छन्।
कार्यक्रमको समापन १४ अक्टोबर, २०२६ मा नयाँ दिल्लीस्थित विज्ञान भवनमा हुनेछ। समापन समारोहमा भारत सरकारका विज्ञान तथा प्रविधिमन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
यस कार्यक्रमको समन्वय सिक्किम सरकारको शिक्षा विभागको सहकार्यमा सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्ले गरिरहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल