
खडगपुर, १२ अक्टोबर (हि.स.)। गौमातालाई राष्ट्रमाता घोषणा गर्नुपर्ने मागसहित मध्यप्रदेशका युवक दौलत सिंह कुर्मी देशका १२ ज्योतिर्लिङ्ग र चारधामको पैदल यात्रामा निस्किएका छन्। करिब ७७ दिनदेखि पैदल यात्रा गरिरहेका दौलत सिंह सोमबार पुरीस्थित जगन्नाथ धामतर्फ जाने क्रममा पश्चिम बङ्गालको खडगपुर हुँदै नारायणगढतर्फ अघि बढेका छन्। उनको यस यात्रालाई लिएर स्थानीयवासीमा उत्सुकता देखिएको छ।
दौलत सिंहले गौमातालाई राष्ट्रमाता घोषणा गराउने सङ्कल्पका साथ आफूले करिब दुई वर्षभित्र यात्रा पूरा गर्ने लक्ष्य राखेको बताए। पेसाले किसान रहेका दौलत सिंहको गाउँमा खेतीयोग्य जमिन छ। खेतीकिसानीमा संलग्न रहे पनि आफ्नो सङ्कल्प पूरा गर्न उनले लामो दूरीको पैदल यात्रा शुरु गरेका हुन्।
उनले १२ ज्योतिर्लिङ्ग र चारधामको यात्रा पूरा गर्नुका साथै पुरीस्थित जगन्नाथ धाम पुग्नु पनि आफ्नो उद्देश्य रहेको बताए। लामो दूरी पैदल पार गर्दै लक्ष्यतर्फ अघि बढिरहेका दौलत सिंहको यस प्रयासको स्थानीयवासीले प्रशंसा गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी