
भुवनेश्वर, १२ अक्टोबर (हि.स.)। ओडिशामा विद्यार्थी सङ्घको निर्वाचन हुनुअघि अखिल भारतीय विद्यार्थी परिषद् (अभाविप) का उम्मेदवारहरूले ६० वटा महाविद्यालयका २५२ पदमा निर्विरोध जित हासिल गरेका छन्। सङ्गठन अनुसार, निर्विरोध निर्वाचित हुनेमा १२ अध्यक्ष, १७ महासचिव, २२ उपाध्यक्ष र २३ संयुक्त सचिव सहित विभिन्न पदका उम्मेदवार रहेका छन्। उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद समाप्त भएपछि ती पदमा अभाविपका उम्मेदवार विरुद्ध अन्य कुनै उम्मेदवार बाँकी रहेनन्।
अभाविपले यस सफलतालाई विद्यार्थी माझ सङ्गठनको सक्रियता र समर्थनको परिणाम बताएको छ। सङ्गठनको दाबी अनुसार, विभिन्न महाविद्यालयहरूमा कङ्ग्रेसको विद्यार्थी सङ्गठन भारतीय राष्ट्रिय छात्र सङ्गठन (एनएसयूआई) र बिजु जनता दल (बिजेडी) को विद्यार्थी सङ्गठन बिजु छात्र जनता दल (बीसीजेडी) ले समेत उम्मेदवार पाउन सकेनन्।
अभाविप अनुसार, बेरहामपुर विश्वविद्यालयमा अध्यक्ष, नाट्य सचिव र सांस्कृतिक सचिवका पदमा सङ्गठनका उम्मेदवार विजयी भएका छन्। त्यस्तै, तालचेर स्वायत्त महाविद्यालय, धर्मशाला डिग्री महाविद्यालय, महिमा डिग्री महाविद्यालय (जोरन्डा, ढेङ्कानाल), चिकिटी डिग्री महाविद्यालय (बेरहामपुर), पिपुल्स डिग्री महाविद्यालय (बुगुडा) र खजुरीकाटा डिग्री महाविद्यालय (हिण्डोल) मा सबै प्रमुख पदमा जित हासिल गर्दै अभाविपले पूर्ण सफलता प्राप्त गरेको छ।
दिल्ली, पञ्जाब, केरल र असम लगायत देशका विभिन्न राज्यमा विद्यार्थी सङ्घको निर्वाचनमा अभाविपले हासिल गरेको सफलताले पनि विद्यार्थीमाझ सङ्गठनको बढ्दो स्वीकार्यतालाई दर्शाउने अभाविपको भनाइ छ।
अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय सचिव श्रवण बी. राजले भने, “ओडिशामा अभाविपको सङ्घर्ष कङ्ग्रेस र बिजु जनता दलको त्यस्तो राजनीतिक कार्यशैली विरुद्ध छ, जहाँ विद्यार्थीको हितभन्दा राजनीतिक समीकरणलाई प्राथमिकता दिइन्छ। एनएसयूआई र बीसीजेडीले राजनीतिक समर्थन पाउँदापाउँदै पनि धेरै महाविद्यालयमा उम्मेदवारको अभाव देखिनुले विद्यार्थी राजनीतिमा केवल राजनीतिक पृष्ठभूमि वा समर्थन पर्याप्त नहुने कुरा स्पष्ट पार्छ। विद्यार्थी माझ निरन्तर काम गर्नु र उनीहरूको विश्वास जित्नु आवश्यक छ।”
उनले अभाविपका कार्यकर्ता वर्षभरि विद्यार्थीमाझ रहेर उनीहरूका समस्या बुझ्ने र समाधानका लागि निरन्तर सङ्घर्ष गर्ने बताए। केही सङ्गठन भने निर्वाचनको समयमा मात्र सक्रिय देखिने उनको आरोप थियो। ६० महाविद्यालयका २५२ पदमा अभाविपका उम्मेदवार निर्विरोध निर्वाचित हुनुले सङ्गठनको यही कार्यशैली र विद्यार्थीमाझ रहेको विश्वासलाई प्रतिबिम्बित गर्ने उनले बताए। अभाविपले विद्यार्थीको हितमा निरन्तर काम गरिरहने र आगामी विद्यार्थी सङ्घको निर्वाचनमा पनि व्यापक समर्थन प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे।
अभाविपकी ओडिशा (पूर्व) प्रदेश सचिव दीप्तिमयी प्रतिहारीले महाविद्यालयहरूमा प्राप्त सफलता कार्यकर्ताहरूको वर्षभरिको मेहनत, निरन्तर सक्रियता र विद्यार्थीसँगको बलियो सम्बन्धको परिणाम भएको बताइन्। उनले अभाविपका प्रत्येक कार्यकर्ता महाविद्यालय परिसरमा विद्यार्थीका समस्या र अधिकारका विषयमा निरन्तर सक्रिय रहने बताउँदै विद्यार्थीको विश्वास नै सङ्गठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरिन्। निर्विरोध जितका यी परिणामले विद्यार्थीको त्यही विश्वासलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो। आगामी विद्यार्थी सङ्घको निर्वाचनमा पनि अभाविपका कार्यकर्ताहरूले विद्यार्थीको विश्वासका आधारमा उल्लेखनीय जित हासिल गर्ने र विद्यार्थी हितका मुद्दालाई प्रभावकारी रूपमा अघि बढ़ाउने विश्वास उनले व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी