
ढाका (बङ्गलादेश), १३ अक्टोबर (हि.स.)। देशमा हिन्दू समुदायको सबैभन्दा ठूलो चाड शारदीय नवरात्रिका अवसरमा दुर्गा पूजा पण्डालहरूको सुरक्षाका लागि १६ देखि २२ अक्टोबरसम्म सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का करिब १० हजार जवान तैनाथ गरिनेछ। बीजीबी मुख्यालयका लेफ्टिनेन्ट कर्णेल मोहम्मद महबुब मुर्शिद रहमानले यसबारे जानकारी दिएका हुन्। उनले पूजा आयोजक समितिहरूसँग समन्वय स्थापित गरिएको बताए। बीजीबीका यी जवानहरूले सीमा क्षेत्र र बटालियन मुख्यालयनजिक सजाइने २ हजार ७२७ वटा पूजा पण्डालको सुरक्षा गर्नेछन्।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार, लेफ्टिनेन्ट कर्णेल रहमानले चाडपर्वका क्रममा शान्ति सुनिश्चित गर्न व्यापक सुरक्षा योजना तयार पारिएको बताए। यस अवधिमा जवानहरूले नियमित पेट्रोलिङ गर्नेछन्। गुप्तचर निकायहरूले पूजा पण्डालहरूको निगरानी गर्नेछन्। बीजीबीले स्थानीय प्रशासन, पुलिस तथा पूजा आयोजक समितिहरूसँग समन्वय स्थापित गरेको छ।
उनले भने, “सम्भावित खतराको समयमै पहिचान, अफवाह तथा साम्प्रदायिक उत्तेजना फैलाउने गतिविधिप्रति सतर्कता र कुनै पनि अप्रिय घटनामा तत्काल कारबाही गर्नुलाई प्राथमिकता दिइएको छ।” उनले बीजीबीले २ हजार ७२७ वटा पूजा पण्डाललाई सुरक्षा सहयोग उपलब्ध गराउने बताए। यसमा सीमाबाट आठ किलोमिटरको दायराभित्र तथा बटालियन मुख्यालयनजिक रहेका पण्डालहरू पनि समावेश छन्। दुर्गम तथा कठिन पहुँच भएका क्षेत्रहरूमा सघन पेट्रोलिङ र सहायता सुनिश्चित गर्न रणनीतिक स्थानहरूमा अस्थायी सुरक्षा शिविरसमेत स्थापना गरिनेछ।
उनले ढाकाका सम्बन्धमा यस योजनाअन्तर्गत अहिलेसम्म कुनै निर्णय नगरिएको बताए। सरकारले दिने निर्देशनअनुसार कार्यान्वयन गरिनेछ।
लेफ्टिनेन्ट कर्णेलले दुर्गा पूजालाई बङ्गलादेशको साम्प्रदायिक सद्भाव र आपसी सम्मानको लामो परम्पराको प्रतीक बताउँदै हिन्दू समुदायका मानिसहरूले सुरक्षित र हर्षोल्लासका साथ यो चाड मनाउन सकून् भन्ने सुनिश्चित गर्न बीजीबी पूर्ण रूपमा तयार रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल