

पश्चिम मेदिनीपुर, 14 अक्टोबर (हि.स.): जिल्लाको मोहनपुर थाना अन्तर्गत आन्टला गाउँमा सेप्टिक ट्याङ्कीमा काम गर्ने अवधिमा भएको दुर्घटनामा परी चार जना मानिसहरूको मृत्यु भयो भने अर्का एकजना घाइते भए। उक्त घटनापछि सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।
स्थानीय सूत्र अनुसार गए मङ्गलवार बदिर मल्लिक आफ्नी बहिनीको घरमा सेप्टिक ट्याङ्कीको काम गर्न गएका थिए। काम गर्ने क्रममा अभाग्यवश उनी ट्याङ्कीभित्र पसे। उनलाई बचाउनको लागि उनकी बहिनी सरजिना बीबी पनि ट्याङ्कीभित्र पसिन्, तर उनी पनि भित्रै झरिन्। त्यसपछि आफ्नी आमालाई बचाउने प्रयास गर्दै उनका छोरा शेख रबिउल पनि ट्याङ्कीमा पसे। यी तीनैजनालाई बचाउनको लागि छिमेकी आफन्त शेख साहेब अगाडि बढ़े, तर उनी पनि ट्याङ्कीभित्रै झरे।
यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शेख अबुकलाम नामक व्यक्ति घाइते भएका छन्। घटनाको जानकारी पाएर मोहनपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। मङ्गलवार अबेर साँझ पुलिसले मृतकहरूको शवलाई उद्धार गरी पोस्टमर्टम गर्न पठाइदिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा