
काठमाडौं, १४ अक्टोबर (हि.स.)। नेपाल सरकारले सरकारी विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यले विद्यालयहरूको भौतिक पूर्वाधार विकास गर्ने योजना शुरु गरेको छ। यस योजनाअन्तर्गत राम्रो शैक्षिक नतिजा हासिल गरेका र दुई हजारभन्दा बढी विद्यार्थी भएका देशभरका १०९ ठूला सरकारी विद्यालयलाई प्राथमिकता दिँदै पूर्वाधार विस्तार गरिने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने दिशामा ऐतिहासिक कदमका रूपमा लिइएको बताएका छन्। चालु आर्थिक वर्षमा यी विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ बनाउन कुल ६५४ करोड नेपाली रुपियाँ बजेट विनियोजन गरिएको छ।
सस्मित पोखरेलका अनुसार, योजनाको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५३४ करोड रुपियाँ निकासा गरिसकिएको छ। यस रकमबाट विद्यालयहरूमा आधुनिक सुविधासहितका तीनतले र १२ कोठा भएका भवन निर्माण कार्यलाई तीव्रता दिइनेछ।
प्रत्येक विद्यालयमा करिब ६ करोड रुपियाँको लागतमा निर्माण गरिने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था हुनेछ। मन्त्रीले यसबाट विद्यार्थीहरूलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी शैक्षिक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले केही सरकारी विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या बढ्नु खुशीको कुरा भए पनि केही विद्यालय विद्यार्थीको अभावसँग जुधिरहेको बताएका छन्। उनले भने, “हामी यस वास्तविकताप्रति पनि उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानता हटाउन हामीले ठूला विद्यालयहरूबाट पूर्वाधार सुधारको काम शुरु गरेका छौँ।'
हिन्दुस्थान समाचार / बिशाल