
नयाँ दिल्ली, १५ अक्टोबर (हि.स.)। भारतका पूर्व राष्ट्रपति एवं महान् वैज्ञानिक भारत रत्न डा. एपीजे अब्दुल कलामको जयन्तीमा बिहीबार लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रिय गृहमन्त्री अमित शाहलगायत अन्य केन्द्रिय मन्त्री तथा विपक्षी नेताहरूले श्रद्धाञ्जली अर्पण गरे। नेताहरूले विज्ञान, रक्षा तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गर्दै उनको जीवन, विचार र राष्ट्रप्रतिको समर्पणले आगामी पुस्तालाई निरन्तर प्रेरित गरिरहने बताए।
लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत डा. कलामलाई स्मरण गर्दै विज्ञानको क्षेत्रमा उनको असाधारण उपलब्धि, राष्ट्रप्रतिको समर्पण, सरल जीवनशैली र युवाहरूप्रतिको अटुट विश्वासले देशवासीको हृदयमा विशेष स्थान दिलाएको बताए। उनले डा. कलाम प्रयोगशालादेखि राष्ट्रपति भवनसम्म आफ्नो जीवन देशको प्रगति र जनकल्याणका लागि समर्पित गर्ने विरलै राष्ट्रनिर्माताहरूमध्ये एक रहेको बताए।
बिरलाले डा. कलामको जीवनले परिस्थितिले कुनै व्यक्तिको सपनाको सीमा निर्धारण गर्न नसक्ने प्रमाणित गरेको बताए। दृढ इच्छाशक्ति, निरन्तर परिश्रम र सिक्ने उत्कट चाहनाका माध्यमबाट नयाँ उचाई हासिल गर्न सकिने उनले उल्लेख गरे। अन्तरिक्ष तथा मिसाइल कार्यक्रमहरूमा डा. कलामको योगदान ऐतिहासिक रहेको पनि उनले बताए। उनका अनुसार, शिक्षाको उद्देश्य केवल उपाधि हासिल गर्नु वा रोजगारी प्राप्त गर्नु मात्र नभई वैज्ञानिक सोच, सिर्जनशीलता, नैतिक मूल्य र समस्या समाधान गर्ने क्षमता विकास गर्नु पनि हो।
रक्षामन्त्री राजनाथ सिंहले भारतलाई रक्षा क्षेत्रमा आत्मनिर्भर बनाउन डा. कलामले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए। विकसित भारतको उनको परिकल्पना तथा युवाहरूमा वैज्ञानिक सोच, आत्मविश्वास र राष्ट्र निर्माणको सङ्कल्प जगाउने प्रयासले सधैँ प्रेरणा दिइरहने उनले उल्लेख गरे।
सिंहले राष्ट्रपतिको सर्वोच्च पदमा पुगिसकेपछि पनि डा. कलामको सरलता र सहजता कायम रहेको बताए। बालबालिका तथा युवाहरूसँग समय बिताउनु, उनीहरूसँग संवाद गर्नु र प्रोत्साहित गर्नु उनको व्यक्तित्वका यस्ता विशेषता थिए, जसले उनलाई जनताको हृदयमा विशेष स्थान दिलाएको उनले बताए। उनका विचार, आदर्श र राष्ट्रप्रतिको समर्पणले आगामी पुस्तालाई निरन्तर प्रेरित गरिरहने पनि उनले उल्लेख गरे।
केन्द्रिय गृहमन्त्री एवं सहकारितामन्त्री अमित शाहले डा. कलामलाई स्मरण गर्दै उनले आफ्नो असाधारण वैज्ञानिक प्रतिभा भारतलाई महत्त्वपूर्ण सामरिक शक्तिका रूपमा स्थापित गर्न समर्पित गरेको बताए। भारतको राष्ट्रपतिका रूपमा उनले सर्वोच्च लोकतान्त्रिक मूल्यहरूको संरक्षण गरेको उनले उल्लेख गरे। ‘भारतका मिसाइल म्यान’ का रूपमा परिचित डा. कलाम युवाहरूलाई राष्ट्रसेवाका लागि प्रेरित गर्ने आदर्श व्यक्तित्वका रूपमा सधैँ स्मरणीय रहने शाहले बताए।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले डा. कलाम ज्ञान र कर्मठताका प्रतीक रहेको बताए। भारतलाई शक्तिशाली राष्ट्र बनाउन उनले आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गर्दै उनका विचारले आगामी पुस्तालाई निरन्तर प्रेरित गरिरहने उनले बताए।
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले रक्षा तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा भारतलाई विश्वस्तरमा नयाँ पहिचान दिलाउनुका साथै देशलाई आणविक शक्तिसम्पन्न बनाउन डा. कलामको योगदान अभूतपूर्व रहेको बताए। उनका अमूल्य विचार र आदर्श जीवनले युवाहरूलाई मार्गदर्शन गरिरहने तथा राष्ट्र निर्माण र विकसित भारतको सङ्कल्प पूरा गर्न प्रेरित गर्ने उनले उल्लेख गरे।
केन्द्रिय कपडामन्त्री गिरिराज सिंहले डा. कलामप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशको विकास र युवाहरूको उत्थानमा उनले पुर्याएको अमूल्य योगदान सधैँ सबैका लागि प्रेरणाको स्रोत बनिरहने बताए।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले पनि डा. कलामप्रति श्रद्धाञ्जली अर्पण गरे। ‘भारतका मिसाइल म्यान’ का रूपमा स्मरण गरिने डा. कलामको विज्ञान, प्रविधि तथा राष्ट्र निर्माणमा रहेको अभूतपूर्व योगदानले आज पनि पुस्तौँलाई ठूला सपना देख्न, उत्कृष्टतातर्फ अघि बढ्न र पूर्ण समर्पणका साथ देशको सेवा गर्न प्रेरित गरिरहेको उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी